काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।
सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सो बारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताए ।
भारतको औपचारिक भ्रमण पूरा गरी शनिवार अपराह्न स्वदेश फर्किएका उनले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटकपटक दोहोर्याए ।
उनले भने, ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईँहरूले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । अव मैले आफ्नो ढंगले कुरा नगरेको छैन । आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अव यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन ।’
प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु वस्त्र धारण गर्नु परेको बताए । सो मन्दिरमा मुख्य अतिथिले गेरु वस्त्र धारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौँ भारतीय मनमा चिसो पस्ने भएकाले सो वस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्टीकरण थियो ।
उनले यसलाई नेपालको सर्वोपरि हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गरे ।
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको संशयमा पुगेको सम्बन्धमा विश्वासमा रूपान्तरण गर्न सफल भएको बताए ।
प्रतिक्रिया