Breaking

आक्रामक बन्दै एमाले, आगो बाल्ने चेतावनी, गठबन्धनले लखेटेपछि सत्ता ढाल्न असफल, रवि–बालेनको डर


काठमाडौँ — दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको नेकपा एमालेले उस्तै प्रकृतिको एक वर्षे अभियान सुरु गरेको छ । पार्टी संगठनको सुदृढीकरण र सामाजिक जागरणका निम्ति भन्दै एमालेले एक वर्षे अभियान थालेको हो । जसलाई एमाले तंग्रिने प्रयासका रुपमा विश्लेषण गरिएको छ । नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच महिनाअघि सरकारको नेतृत्वमा पु¥याउँदा एमाले आफुलाई सबथोक सम्झिन्थ्यो । बालकोट गठबन्धनको गठजोडमा नयाँ पुराना दल सबै गोलबन्द भएपछि एमाले अध्यक्ष ओली नेता बनेका थिए ।

ओलीकै मोल र चाल अनुसार प्रचण्डको चुलो बलिरहेको थियो । तर प्रचण्ड विकल्प खोज्न अघि बढेपछि एकपटकमै काँग्रेसको ढोक्सा भरियो । सत्ता र शक्तिका लागि सबै विकल्प विफल भए । अहिले चाहेर पनि एमाले सत्तामा पुग्ने अवस्था छैन ।बोनसमा पाएको सभामुखबाहेक एमाले रित्तो छ । काँग्रेस नेतृत्वको १० दलीय गठबन्धनले लखेट्दै–लखेट्दै प्रदेशबाटसमेत पत्तासाफ बनाएपछि एमाले एक्लिएको छ । फलतः विकल्पहिन रहेका ओलीले अब सत्तामा सकिँदैन भन्ने बुझेपछि पार्टी निर्माणबाट तंग्रिने अभियान छेडेका छन् । यसअघि दुईमहिने ‘मिशनग्रासरुट’ चलाएको उनी अब एक बर्षे अभियान चलाउने भएका छन् ।

एक वर्षे अभियानले पार्टीलाई थप गतिशील बनाउने र उचाइमा लैजाने विश्वास नेताहरुको छ । यसका लागिउपाध्यक्षहरुले विभागको संयोजन गर्ने जिम्मेवारी पाएका छन् । ३२ वटा विभागको संयोजन गर्नेगरि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष गरी सात जनालाई जिम्मेवारी दिइएको छ । सचिवहरुलाई ईञ्चार्ज बनाएर ओली एकबर्ष प्रदेश लखेटेका छन् । प्रतिपक्षकै भूमिका थन्किने लगभग अब सुनिश्चित भएपछि सरकारको खबरदारीमाथि नै एमाले केन्द्रीत बन्ने भएको छ । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोदेखि रेशम चौधरीलाई आममाफी दिएको विषयसम्म सडक र सदनमा आगो बाल्ने नेताहरु बताउँछन् । गठबन्धनले संसदको अपमान गर्दै राष्ट्रपतिको गलत प्रयोग गरेपछि सडक तताउने दाबी एमालेले गरेको छ ।

गतबर्षको मंसिर ४ मा सम्पन्न निर्वाचनअघि एमाले अध्यक्ष ओली झण्डै १५० सिटको दाबी गरिरहेका थिए । तर जनताले ७८ सिटमै थन्क्याइदिए । बलियो सांगठनिक आधारका बीच पनि खप्परमा घन खाएका उनी नयाँ पार्टीको उदयले झनै दबाबमा परे । मंसिर ४ को जनमत बैशाख १० मा भएको उपचुनावमा झनै कमजोर देखियो । दुई महिने मिशन चलाएपनि एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो बन्यो । जुन ओलीका लागि प्रसव पीडाभन्दा कम छैन । ८४ को निर्वाचनसम्म तंग्रिएर जनमत जोगाउन नसके माधवकै हैसियतमा एमाले पुग्नसक्ने डर भएको विश्लेषण हुन थालेको छ ।

किनकि, नयाँ पार्टीको उभार बढार्ने गरि बढेको छ । टोपबहादुर रायमाझीका पक्षमा खर्चिएका शब्दले शरणार्थी प्रकरणले सबैभन्दा नाङगो ओलीलाई बनाएको छ ।अर्काे चुनावसम्म मत परिवर्तन भयावह बन्ने संकेत देखिएका बेला बलियो विरासतधारी अस्तित्व जोगाउन ओली रक्षात्मक बनेका छन् । तैपनि पार्टी नै बलियो बनाएर शक्तिमा फर्किने अभिलाषासहित ओली आशावादी बनेर तंग्रिने अभियानमा छन् ।