काठमाडौँ — नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । नेपाली इतिहासमा सबैभन्दा बीभत्स र रहस्यमय घटनाका रुपमा रहेको यो हत्याकाण्डको सत्यतत्थ्य बाहिर ल्याउन राजनीतिक नेतृत्वले चासो नदेखाउदाँ अझै यो हत्याकाण्ड रहस्यकै गर्भमा रहेको छ । आज भन्दा २२ वर्ष अघि आजकै दिन तत्कालिन राजा वीरेन्द्रविरविक्रम शाहको वंश नै नाश हुने गरि नारायणहिटी राजदरबारभित्र बिभत्स हत्या भएको थियो ।
नियमित पारिवारिक जमघटको मौका पारी राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूले सो हत्याकाण्डमा ज्यान गुमाएका थिए ।तर उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्डको यतिका बर्ष बित्दा समेत घटनाको वास्तविक कारण र योजनाकार रहस्यकै गर्भमा छ ।
दरबार हत्याकाण्डको दोषी पत्ता लगाउँछु भनेकाले नै अहिले सरकारको नेतृत्व गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन पटक देशको कार्यकारी पदमा त पुगिसके तर नतीजा भने दिन सकेका छैनन् । यद्यपि, उनले छानविन गर्दैनौ पनि भन्न छोडेका छैनन् । उनी अहिले पनि हत्याकाण्डको फाइल खोल्नु पर्ने भन्दै भाषणबाजी गर्ने गर्छन् ।
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको भएपनि धेरैले समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको बताइन्छ । हत्यामा बाह्य शक्तिको संलग्नता रहेको आशंकाबीच युवराज दीपेन्द्रले नै सो हत्याकाण्ड गरेको प्रतिवेदनमाथि धेरैको विश्वास छैन ।
तर प्रतिवेदन सार्वजनिक गर्ने तत्कालिन सभामुख तारानाथ रानाभाट भने कार्यदेशबाट गठित समितिले सुरक्षाका निकाय लगायत व्यक्तिहरुले दिएको बयानका आधारमा युवराज दिपेन्द्रले नै हत्या गरेको देखिएकाले सोहि वमोजिमको प्रतिवेदन दिएको बताउँदै आएका छन् । राजनीतिक आधारमा बनेको आयोगले दिएको कार्यादेश अनुसार निकालिएको प्रतिवेदनमा अधिकांशको शंका छ । तर, सत्तामा बसिरहेकाहरु सत्यतथ्य बाहिर ल्याउनुको साटो आलोचनामा नै सीमित देखिन्छन् ।
दरबार हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए, तर यस घटनाको दोहोर्याएर कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । हत्याकाण्डको छानविनका लागि गठित समितिमाथि नै प्रश्न उठिरहेको छ । कुनै विज्ञ विना केवल राजनीतिक व्यक्तिहरुमात्र रहेको समितिले ल्याएको प्रतिवेदनकै कारण हत्याकाण्ड अझै रहस्यपूर्ण बनेको छ । प्रतिवेदनले जे भने पनि कांग्रेस नेता गिरिजा कोइराला, सेना प्रमुख रुकमांगद कटुवाल, प्रचण्ड, रअ सिआईए लगायतका तत्कालिन कुटनीतिकमाथि पनि चोरी औला तेर्सिएको छ ।
रहस्यमा गुजुल्टिएको दरबार हत्याकाण्डको यथार्थ छानबिन हुनु पर्ने अझै पनि माग हुँदै आएको छ । तर प्रतिपक्षमा हुँदा दरबार हत्याकाण्ड र मदन भण्डारीकोको मृत्यु हत्या कि दुर्घटना भन्नेबारे छानबिन गर्नु पर्ने आवाज उठाउने दलहरु सत्तामा पुगेपछि मौन बस्ने गरेका छन् । यसबाट यो हत्याकाण्ड कहिलसम्म रहस्यकै गर्भमा रहिरहने छ त्यो अनुमान गर्न समेत मुस्किल छ ।
प्रतिक्रिया