Breaking

देउवाविरुद्ध संघर्ष गर्ने गगन थापाको चेतावनी


काठमाडौँ —सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने लगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताएका हुन् ।

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमति आफूलाई सह्य नहुने बताए। उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वानसमेत गरे । महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहोर्‍याए। कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, ‘केही दिन बीचमा नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु गर्‍यो । एउटा निर्णय आममाफीको विषयमा । जसको बारेमा साथीले चर्चा गर्नुभयो । एउटा निर्णय नागरिकताको विषयमा । एउटा निर्णय प्रदेश सरकारमा कांग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा । एउटा निर्णय सरकारले गर्‍यो भर्खर सांसद विकास कोषको सन्दर्भमा ।

यस्ता कैयन विषयहरु छन् । जुन विषयहरु मैले लङ लिस्ट भन्न सक्छु । यी सबै विषयहरुका सन्दर्भमा नेपाली काँग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नुभएको निर्णयहरु हो। यो निर्णय मैले तपाईं भन्दा पछाडि थाहा पाएको हुँ । मैले यसलाई सहँदै आएँ । मैले यसलाई मान्दै आएँ ।

किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ । सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो । मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो । महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणासमेत गरे ।