काठमाडौँ — पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भोलि शुक्रबार हुने भएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका पूर्वगृहमन्त्री खाँण र रिजालको बयान भोलि लिइने जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक दाहालले जानकारी दिए । उनका अनुसार आज पूर्वउपप्रधानमन्त्री एवं एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पुर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमसेर मियाँको वयान आज बिहीबार लिइएको छ ।
योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जनाको बयान सकिएको छ । वयान दिएका सबैले जिल्ला अदालतमा न्यायधीशसामु इन्कारी बयान दिएका स्रोतले बताएको छ । भोलि खाँण र रिजालको बयान सकाएर थुनछेक बहस सुरू हुनसक्ने अदालत प्रशासनले जनाएको छ ।
प्रतिक्रिया