Breaking

प्रधानमन्त्री मोदीले नयाँ संसद भवन उद्घाटन गर्दै, विपक्षी १९ दलको बहिष्कार


काठमाडौँ – विपक्षी दलहरूको चर्को विरोधकाबीच भारतीय प्रधानमन्त्री नरेद्र मोदीले आज भारतको नयाँ संसद भवन उद्घाटन गर्दैछन् ।

नयाँ दिल्लीमा पुरानो संसद भवनकै छेउमा बनेको अत्याधुनिक भवन आज प्रधानमन्त्री मोदीले उद्घाटन गर्न लागेका हुन् । नयाँ संसद भवनको उद्घाटन समारोह स्थानीय समयअनुसार बिहान साढे ७ बजे सुरू भइसकेको छ । यो समारोह दिउँसो साढे १ बजे सम्पन्न गर्न समय तालिका छ । उद्घाटन समारोहमा प्रधानमन्त्रीले हवन-पूजन गर्ने, प्राथना सभा गर्ने, राष्ट्रपति र उपराष्ट्रपतिको लिखित सन्देश सुनाउने, प्रधानमन्त्री मोदीले भारु ७५ को सिक्का जारी गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिले उद्घाटन गर्नुपर्ने नयाँ संसद भवन प्रधानमन्त्री आफैले उद्घाटन गर्न लागेको भन्दै विपक्षी दलहरुले चर्को विरोध गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, तृणमूल कांग्रेस, समाजवादी पार्टीलगायत १९ दलले उद्घाटन समारोह बहिस्कारको घोषणा गरेका छन् । सत्तारुढ भाजपालाई बीजू जनता दल, तेलेगु देशमलगायतका पार्टीले भने साथ दिएका छन् ।