Breaking

प्रधानमन्त्रीले बोलाए एमाले नेताहरूलाई बालुवाटार, सदन अवरोध हटाउनेबारे छलफल हुने


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएका छन्।

सदन अवरोध हटाउनेबारे छलफल गर्न बिहान ८:३० बजे बालुवाटार बोलाइएको एमालेका एक नेताले जानकारी दिए। ‘प्रधानमन्त्रीले छलफलमा बोलाउनुभएको छ, हामी जाँदैछौं,’ एमालेका एक नेताले भने। पशुपतिको जलहरीबारे माओवादीका सांसद लेखनाथ दाहालको अभिव्यक्तिको विरोधमा एमालेले शुक्रबार सदन अवरूद्ध गरेको थियो।

एमालेले जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने र सत्तापक्षले माफी माग्नुपर्न माग राखेका छन्।
यही विषयलाई लिएर एमालेले आज पनि संसद अवरोध गर्ने तयारी गरेको छ।

सरकार संसदमा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ। आज नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। त्यसकारण सदन अवरोध खुलाउन प्रधानमन्त्रीले एमालेसँग छलफल गर्न लागेका हुन्।