Breaking

रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता


काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता पठाएका छन् । शुक्रबार राष्ट्रपति कार्यालयले चौधरीको आममाफी सम्बन्धी फाइल गृह मन्त्रालयमा फिर्ता गरेको हो । कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको सचिवालयले जनाएको छ ।

यसैबीच टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । आजै बोहराले चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गराएकी थिइन् ।