देश

पाकिस्तान राजदूतावासबाट ४३ विद्यालयका १ सय ९८ विद्यार्थीलाई छात्रवृत्ति


काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पु¥याएको सहयोगको प्रशंसा गर्नु भएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौमा गरेको कार्यक्रममा उहाँले बिगतदेखिनै पाकिस्तान सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र सञ्चार जगतमा गरेको सहयोगका प्रशंसा गर्नुभयो । उहाँले नेपाल र पाकिस्तानबिचका सम्बन्ध समधुर रहेको भन्दै छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने र नेपालमा रहँदासमेत छात्रवृत्तिमा पढ्नेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

उहाँले शिक्षाबाटै मुलुकको आर्थिक विकास सम्भव हुने भन्दै सहयोग निरन्तरताको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपालका लागि पाकिस्तानका राजदूत अवहर एच हासमीले नेपालको शिक्षा, स्वास्थ्यलगायत विकासको क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गरी रहने बताउनुभयो । उहाँले दुई देशका जनताबिचको सम्बन्ध प्रगाढ रहेको भन्दै छात्रवृत्ति कार्यक्रमले थोरै भए पनि विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल भरका ४३ वटा विद्यालयहरूको प्रतिनिधित्व गर्दे आएका १ सय ९८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।