काठमााडौँ — शरणार्थी प्रकरणमा उच्च पदस्थ बचाउन प्रधानमन्त्री सक्रिय भएको भन्दै प्रतिनिधिसभामा खबरदारी, मुछिएकाको सोधपुछसमेत नगरिएको भन्दै आपत्ति, नेपाल प्रहरीका आईजीपीमाथि छानबिन गर्न माग । नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउने भनेर सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि अहिले भने केही उच्च पदस्थ व्यक्ति बचाउन सक्रिया भएको आरोप लागेको छ । अभियुक्तले पैसा नै बुझाएको भन्दै नाम लिँदासमेत उनीहरुलाई पक्राउ गरेर सोधपुछसमेत गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ चर्को आलोचनाको सिकार बन्न थालेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरुको बयानसहित प्रहरीले गएको सोमबार सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझायो ।
अभियुक्तहरुले लिखित बयानमै केपी शर्मा ओलीका नीजि सचिवदेखि पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र पूर्व गृहसचिव प्रेमकुमार राईसम्मको नाम लिएको संचारमाध्यममा छ्यापछ्याप्ती भयो । उनीहरुले नाम मात्रै लिएका छैनन्, पैसा बुझाउन प्रधानमन्त्री निवास बालुवाटारदेखि मन्त्री क्वाटरसम्म नै आफूहरु पुगेको बयान दिएका छन् । अभियुक्तहरुले लिखित बयानमै नाम मुछ्दासमेत केही उच्च पदस्त व्यक्ति र नेताहरुलाई भने अनुसन्धानको घेरामै ल्याउन खोजिएन । यति मात्रै होइन, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको नाम लिएर आर्थिक लेनदेनको अडियो टेप नै सार्वजनिक हुँदासमेत उनी खुलेआम हिँडिरहेकी छिन्, पक्राउ गरेर अनुसन्धानको घेरामा ल्याउने आँट प्रहरी प्रशासनले गर्न सकेन ।
सत्ता र शक्तिकै आडमा उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन् । बैठक सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु अहिले कामेजस्तो लागेकोले चेक गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनको यो टिप्पणी नेकपा एमालेका सचिव रघुवीर महासेठलाई पटक्कै चित्त बुझेन । लगत्तै उनले रविलाई जवाफ फर्काउँदै नागरिकतामा कैफियत देखिएपछि त्यसबाट बच्न बालुवाटारमा रातारात म्याउँम्याउँ गर्न पुगेको टिप्पणी गरे । तीन पार्टीलाई देखाएर आफू स्थापित हुनेगरी नयाँ शक्तिहरू लागि परेको भन्दै उनले परिवर्तनका लागि लडेका पार्टीहरूका विरूद्धमा भित्र र बाहिर भाषण गर्नेगरी जुन प्रकारको शक्तिहरू आइरहेको छ, त्यस्ता शक्तिबाट सावधान हुनसपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरू बालुवाटारमा खुसुखुसु बसेर मिलाउन खोजेकोप्रति आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल प्रहरीका आईजीपीलाई निलम्बन गरेर छानबिन गर्नसमेत माग गरेका छन् । यो प्रकरणमा प्रहरी महानिरिक्षक बसन्त कुँवरकोसमेत नाम सार्वजनिक भएकोले उनीसहित नाम मुछिएका सबै व्यक्तिमाथि छानविन हुनुपर्ने बताए । भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी छ ।
यो प्रकरणमा अबको अनुसन्धान कसरी हुन्छ भन्ने आम चासो चुलिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवासँग जजिकको सम्बन्धमा रहेका व्यक्तिहरुको नाम नै यो प्रकरणमा मुछिँदासमेत उनीहरुलाई अनुुसन्धानको घेरामा नल्याएकोमा कांग्रेस महामन्त्री एवम् सांसद गगन थापासमेत सन्तुष्ट छैनन् । संसद बैठकमा उनले अहिले जसरी नामहरु आएका छन्, यसले लाज पनि लजाएको जस्तो भएको बताए । जिम्मेवारी लिइरहेका व्यक्तिहरु एकपछि अर्को तानिँदै गइरहेको भन्दै उनले जसको नाम आएको छ, त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् भने थप १४ जनालाई फरार प्रतिवादी बनाएर अभियोगपत्र दायर गर्न प्रहरीले राय दिएको छ । तर, नाम सार्वजनिक भएका केही उच्च पदस्थ व्यक्तिहरुलाई सोधपुछसमेत गर्ने आँट नगरेको भनेर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठ आलोचनाको पात्र बनिरहेका छन् । जबजब देउवा र ओली निकटका व्यक्तिहरुको नाम सार्वजनिक हुन थाल्यो, तबतब सरकारको मुट पनि काँप्न थालेको चर्चा सुरु भयो । संसद बैठकमा सांसदहरुले भनेजस्तै जोसुकैको नाम जोडिएको भए पनि उनीहरुमाथि छानविन गर्ने आँट गर्न खुट्टा कमाउनु हुन्न ।
प्रतिक्रिया