Breaking

विन्दवासिनी कंसाकारलाई सांसदको शपथ लिने बाटो खुल्यो


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सांसद पदबाट निलम्बन गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च पुगेका श्रेष्ठको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकमको माग गरेको अडियो सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा। ढाकाकुमार श्रेष्ठलाई बर्खास्त गर्दै उनको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद पदमा स्थापित गर्ने निर्णय गरेको थियो । सो निर्णयको प्रति निर्वाचन आयोगलाई बुझाएलगत्तै आयोगले विन्दवासिनी कंसाकारलाई सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । तर सांसद कंसाकारले सांसदको शपथ भने गर्न पाएकी थिइनन् ।

यसअघि सर्वोच्च अदालतले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । गत वैशाख २५ गते न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कंसाकारलाई सांसद पदमा निर्वाचित गर्ने आयोगको निर्णय यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।

साथै अन्तरिम आदेश निरन्तरताको लागि जेठ ५ गतेको पेसी तोकेका थिए । तर जेठ ५ गते उक्त रिट हेर्न नभ्याइनेमा परेपछि जेठ ८ गतेका लागि अर्को पेसी तोकिएको थियो । जेठ ८ गते पनि उक्त रिट हेर्न नभ्याइनेमा परेपछि जेठ १० गते न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको थियो । बुधबारको सुनुवाइपछि सर्वोच्चले ढाकाकुमारको मुद्दामा अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।