Breaking

देशैभर सामान्य वर्षाको सम्भावना


काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको जनाएको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने विभागले जनाएको छ । पहाडी भू-भागहरूका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र वाग्मती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागको भनाइ छ ।

काठमाडौंमा आज मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति पहाडी भू–भागहरूमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । न्यूनचापीय प्रणालीको असरका कारण वर्षा भएको मौसमविद् अधिकारीले बताए । उनका अनुसार आज र भोलि वर्षाको सम्भावना रहेको छ । आज र भोलि मौसममा सुधार नआउने महाशाखाको भनाई छ ।