Breaking

सुडानमा युद्ध विरामको अवधि सुरु भएपनि रोकिएन युद्ध, राजधानी वरपरका क्षेत्रमा हवाई हमला र झडप


काठमाडौँ — सुडानमा मानवीय सहायता कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने जारी छ । राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप भैईरहेको छ । दुख, कष्ट र वेदनाको अर्को नाम बनेको छ अफ्रिकी महादेश । भूगोलमा त्यसै अँध्यारो महादेश भनेर नामकरण गरिएको होइन होला । न्यून आय, रोग र भोकमरी धेरै अफ्रिकी महादेशका विशेषता बनेका छन् । पछिल्लो दशक गृह युद्धको चपेटामा परेपछि त धेरै अफ्रिकी देशको हालत वर्णन गर्न लायक नै छैन ।

त्यस्तै अहिले कहाली लाग्दो र अत्यासलाग्दो अवस्थामा छ सुडान । सुडानको पालीयोच एयरपोर्ट, एक महिनादेखि युद्धका कारण ज्यान जोगाउन कठिन भएकाको शरण केन्द्र बनेको छ । त्यहाँ कयौं मानिस शरणार्थीको रूपमा जीवन बिताइरहेका छन । सुडानी सेना र विपक्षी अर्धसैनिक बल आरएसएफको युद्धमा मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

राजधानी खार्तुमका साथै वरपरका क्षेत्रमा हवाई हमला र झडप जारी रहेको उनीहरूले जनाएका छन् । यसअघिका युद्धविराम सम्झौता पूर्णतः कार्यान्वयन नभएकाले प्रारम्भ हुने युद्धविरामका बेला पनि झडप नहोला भन्नेमा सुडानी विश्वस्त हुन सकेका छैनन् । नर्वेली शरणार्थी परिषद्का कार्ल स्केम्बरीले आधिकारिक घोषणालाई युद्धरत पक्षले वेवास्ता गर्दै गोली प्रहार र बमबारीका घटना जारी राखेका तथा त्यसले लाखौँ नागरिकको ज्यान जोखिममा पारेको ट्वीटरमा लेखेका छन् । विगतका वाचा पालना नहुँदा मानवीय सहायताकर्मी, बालबालिका र अन्य मारिएका तथा अस्पतालहरू ध्वस्त भएकामा उनले दुःख व्यक्त गरेका छन् ।

अप्रिल १५ देखि सुडानका सैन्य प्रमुख अब्देल फताह अलबुर्हानको नेतृत्वमा सेना र उनका पूर्वसहायक मोहम्मद हमदान डग्लो नेतृत्वको अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको युद्धमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । युद्धका कारण त्यहाँ बनाइएको अस्थायी शरणार्थी शिविरमा शौचालय छैन । पिउने पानी छैन । भान्छा घर छैन । साथै बिछ्यौना पनि धेरैका छैनन् । लगेजमै सुतेर उनीहरू रात कटाइरहेका हुन्छन् । सुडानी सेना र विपक्षी अर्धसैनिक बलको युद्ध कुन मोडमा गएर टुँगिने हो अहिले नै भन्न सकिन्ने कुनै अबस्था छैन ।