Breaking

२८औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता, तोडे आफ्नै विश्व रेकर्ड


काठमाडौँ – सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् ।

शेर्पा आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार आज (मंगलबार) बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जनाएको छ । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक २८ औं पटक सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङ दावाले पनि २७ औं पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए । सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् ।