Breaking

भीमफेदी कारागारमा ३५ जना कैदीबन्दी एकैपटक बिरामी


काठमाडौँ – क्षेत्रीय कारागार भीमफेदीमा अज्ञात रोगबाट सोमबार देखि ३५ जना कैदीबन्दी एकैपटक बिरामी परेका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका-३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, पखला लाग्ने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए। सोमबारदेखि बिरामी भएका उनीहरूलाई आज बिहानसम्ममा केहीलाई निको भएको र केहीलाई अझै ज्वरो निको नभएकाले उपचारकै क्रममा रहेको पौडेलले बताए।

उनका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो। दिनभर बिरामीको संख्या बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालय तथा भीमफेदी गाउँपालिकासँग समन्वय गरेर चिकित्सकको टोली नै मगाएर कारागारमै उपचार गरिरहेका छौं,’ उनले भने।

उनका अनुसार रातभरको उपचारपछि धेरैजसो निको भएर सामान्य अवस्थामा छन् भने केहीलाई अझै उस्तै समस्या देखिरहेको छ। मंगलबार १० बजेपछि ल्याबको टोली आएर बिरामी हुनुको कारण पत्ता लगाउन र सोही अनुसारको थप उपचार गरिनेछ। प्रशासक पौडेलका अनुसार २ जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी कैदीबन्दीको उपचारमा खटिएका थिए। बिरामीमा सुधार देखिएपछि हाल कारागारकै स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको पौडेलको भनाइ छ।

विषाक्त खानाको कारण बिरामी भएको हो कि भन्ने शंकाको आधारमा परीक्षण गर्दा त्यस्तो केही नपाइएन उनले बताए। उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो।त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने उनले बताए।