विदेश

म्यानमार सेनाले किन्यो १ अर्ब अमेरिकी डलरको हतियार, आफ्नै नागरिकलाई आक्रमण गर्न प्रयोग !


काठमाडौँ — म्यानमारका सेनाले सन् २०२१ को ‘कु’ यता कम्तीमा १ अर्ब अमेरिकी डलरको हतियार र यससँग सम्बन्धित उपकरण आयात गरेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार म्यानमारका सेनाले रुस, चीनलगायत देशका कम्पनीबाट हतियार खरिद गरेका हुन् । म्यानमारमा आङ साङ सूकीको निर्वाचित सरकारलाई हटाएर सेना सत्तामा आएपछि राजनीतिक संकट सुरु भएको म्यानमारमा आन्तरिक संघर्ष अहिले पनि जारी नै छ । ‘कु’ पछि सेनाविरुद्ध देशैभर प्रदर्शन भएको थियो । तर सेनाले बल प्रयोग गरेर प्रदर्शन दबाउन थालेपछि सशस्त्र प्रतिरोध सुरु भएको थियो ।

जसलाई शान्त पार्न सेना असफल भइरहेको छ । सन् २०२१ फेब्रुअरीको ‘कु’ यता २२ हजार राजनीतिक बन्दी बनाइएको र ३ हजार ५ सय जना मारिएको छ । करिब १५ लाख व्यक्तिलाई बलपूर्वक विस्थापित गरिएकोे छ । म्यानमारको सेनाले सन् २०२१ को ‘कु’ यता कम्तीमा १ अर्ब अमेरिकी डलरको हतियार र यससँग सम्बन्धित उपकरण आयात गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनअनुसार म्यानमारको सेनाले रुस चीनलगायत देशका कम्पनीबाट ती हतियार खरिद गरेको छ  ।

म्यानमारको सेनाले फाइटर जेट, हेलिकोप्टर, ड्रोन, अत्याधुनिक मिसाइल, उन्नत ट्यांक, सूचना उपकरणलगायत आयात गरेका छन् । म्यानमारमा रुसबाट ४०६ मिलियन डलर चीनबाट २६७ मिलियन, सिंगापुरबाट २५४ मिलियन, भारतबाट ५१ मिलियन र थाइल्यान्डबाट २८ मिलियन अमेरिकी डलरको हतियार र त्यससँग सम्बन्धित सामग्री निर्यात भएको राष्ट्रसंघको मानव अधिकार परिषद्ले जनाएको छ  ।

रुसका राज्य स्वामित्वका र निजी गरी २८ वटा कम्पनीले फाइटर जेट र उपकरण, मिसाइल, आक्रमणमा प्रयोग गरिने ड्रोन, हेलिकोप्टरलगायत म्यानमारलाई बेचेको प्रतिवेदनमा भनिएको छ । चीन र हङकङका राज्य स्वामित्वका र निजी गरी ४१ कम्पनीले पनि म्यानमारलाई हतियार आपूर्ति गरेका छन् । ती कम्पनीले अक्टोबर २०२१ देखि डिसेम्बर २०२२ सम्ममा ट्रेनर जेट, एयरक्राफ्ट, ट्यांक र अन्य उपकरण म्यानमारलाई बेचेका छन् । सिंगापुर र थाइल्यान्डका निजी कम्पनीले पनि हतियारसम्बन्धी उपकरण म्यानमारलाई बेचेका छन् ।

हतियार आयातका लागि वैकल्पिक मार्ग प्रयोग गर्न थाइल्यान्डमा १२ कम्पनी पनि स्थापना गरिएको राष्ट्रसंघले जनाएको छ । म्यानमारमा मानव अधिकारको अवस्थाबारे अनुसन्धान गरेका राष्ट्रसंघका प्रतिनिधि टम एन्ड्र्युले युद्ध अपराध र नागरिकविरुद्ध म्यानमारको सेनाले हतियार प्रयोग गरेको प्रमाण रहेको प्रतिवेदनमा जनाएका छन्  । अप्रिल ११ मा म्यानमारमा भएको घटनालाई अघि सारेका छन्  । त्यस दिन सैन्य शासनको विरुद्धमा रहेका करिब ३ सय जना सहभागी कार्यक्रममा रसियन याक–१३० फाइटर जेटबाट आक्रमण गरिएको थियो ।

उनीहरूलाई उद्धार गर्न आएकामाथि एमआई–३५ हेलिकोप्टरबाट पुनः आक्रमण भएको थियो । त्यस क्रममा बालबालिकासहित करिब १६० जना सर्वसाधारणको मृत्यु भएको थियो । म्यानमारमा प्रजातन्त्र पक्षधर जनताले सेनाको अमानवीय व्यवहार भोग्नुपरेको छ । बृहत् नागरिक आन्दोलनमा कैयौँले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन । त्यस्तै, विस्थापित हुने पनि थुप्रै छन् ।

सेनाले सन् २०२१ फेब्रुअरी १ मा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सुकीसहित सत्तारूढ पार्टी नेसनल लिग फर डेमोक्रेसीका थुप्रै नेता–कार्यकर्तालाई नियन्त्रणमा लिई सैन्य ‘कू’ गरेको थियो । सन् २०२० को आमनिर्वाचनमा सुकीको पार्टी भारी मतले विजयी भएको थियो । चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता कब्जा गरेपछि जनता सडकमा उत्रिएमा थिए । सत्ता कब्जा गरेपछि म्यानमारसँग अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिग्रिएको छ । कतिपय अन्तर्राष्ट्रिय दाताहरुले आफ्नो सहयोग समेत रोक्का गरेका छन् ।