Breaking

पति बालकृष्णलाई भेट्न हिरासत पुगिन् मञ्जु


काठमाडौँ – हिरासत पुगेको १२ दिनपछि पति बालकृष्ण खाँणलाई भेट्न मञ्जु प्रहरी कार्यालय पुगेकी छन् । सोमबार बिहान काठमाडौँ परिसर पुगेर सांसद मञ्जुले खाँणलाई भेटेकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन् । खाँण पक्राउ परेपछि सम्पर्कविहीन भएकी मञ्जु जेठ ४ गते संसद्‌मा उपस्थित भएकी थिइन् । यसअघि पक्राउ पर्नासाथ बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन्। यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो ।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएन । खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए। खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन् ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पक्राउ गरेको छ । उनीविरुद्ध अनुसन्धान सकेर प्रहरीले सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

अनुसन्धान सकिएकै दिन मन्जु बालकृष्णलाई भेट्न पुगेकी हुन् । अब १० गते सरकारी वकिल कार्यालयले अभियोग दायर गर्नेछ । त्यसपछि अदालतमा वकपत्र गराउने र प्रमाण बुझ्ने छ। त्यसपछि थुनछेक बहस हुनेछ ।

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने वा हिरासतबाहिरै राखेर मुद्दाको अन्तिम किनारा लगाउने भन्ने आदेश गर्नेछ ।