Breaking

नक्कली शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाइँदै


काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।

कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ । झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले यो संगठित अपराधमा हालसम्म ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

उनीहरुमध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौँ र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिनेछ ।

प्रहरीका अनुसार प्रहरीले स्पष्ट संलग्नता देखिएका ३२ जनालाई प्रतिवादी बनाएर आज रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँलाई बुझाउँदैछ ।

यस घटनामा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ । केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गर्नेछ ।