Breaking

नीति तथा कार्यक्रममा देशको यथार्थ लुकाउन खोजियो: ओली


काठमाडौं — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य र गन्तव्य पनि नभेटिएको बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले वास्तविकता नै ढाँट्ने प्रयत्न गरेको बताए । ओलीले सरकारले नीति तथा कार्यक्रममा देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको टिप्पणी गरेका छन् । तरलता अभाव, उच्च व्याजदर, ऋण नतिर्नेलाई राजनीतिक संरक्षण, व्यवसायीको खस्केको मनोबललगायतका यथार्थहरुलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम नआएको ओलीको भनाइ छ ।

‘निर्यात २६ प्रतिशतले घटेको छ । आयात १८ प्रतिशतले घट्दा विकास निर्माणका सामग्री, औद्योगिक कच्चा पदार्थ, विद्युत तथा संचार उपकरण, कृषि उपकरण, निर्यात गरिने वस्तुका कच्चा पदार्थ अभाव हुन थालेका छन्,’ उनले भने, ‘अझ दुर्भाग्यपूर्ण त के छ भने देश असामान्य अवस्थामा रहेको यथार्थलाई सरकारले लुकाउन खोजेको छ । लुकाउन मात्रै होइन– रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ । सरकारलाई देशको अर्थतन्त्रको अवस्थाबारे थाहा छैन कि जनतालाई ढाँट्न चाहन्छ ? उनले भने, ‘अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा भूकम्प, कोभिड महामारी र रुस–युक्रेन युद्धलाई कारण देखाइएको छ ।