Breaking

नक्कली शरणार्थी प्रकरण : आज सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी


काठमाडौँ – काठमाडौँ प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगि प्रकरणमा आज अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसअघि शुक्रबार नै प्रतिवेदन बुझाउने तयारी भएपछि अन्तिम समयमा दुई जना पक्राउ परेपछि बयान गर्नुपर्ने भएकाले सरेको हो ।

यो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बुझिएको छ । काठमाडौँ प्रहरी परिसरले प्रस्तावित रायसहित अनुसन्धान प्रतिवेदन बुझाउने छ । प्रस्तावित रायमा ककसलाई के-के अभियोग लगाउनेसहित राय उल्लेख हुने छ ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरि अभियोग पत्र तयार गर्ने छ । सरकारी वकिल कार्यालयले ककसलाई प्रतिवादी बनाउने र के के अभियोग लगाउने भनेर अन्तिम निर्णय गर्ने छ ।

प्रहरीले पक्राउ गरेका, प्रतिवादी बनाउन राय दिएकाविरुद्ध सरकारी वकिल कार्यालयले मुद्धा नचलाउने निर्णय पनि गर्न सक्छ । यस्तै प्रहरीको रायविपरित सरकारी वकिल कार्यालयले अर्कै मुद्दा लगाएर प्रतिवादी पनि बनाउन सक्छ । स्रोतका अनुसार यो प्रकरणमा हालसम्म २१ वटा जाहेरी परेका छन् जसमा एक सय ६ जना पीडितबाट करिब २६ करोड रुपैयाँ ठगी भएको दावी गरिएको छ ।

सरकारी वकिल कार्यालयले मंगलबारसम्म अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ । संगठित अपराधमा पक्राउ परेको ६० दिनभित्र अभियोग पत्र दर्ता गरिसक्नुपर्ने हदम्याद मंगलबार सकिँदै छ । यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत पक्राउ परेका छन् ।

प्रहरीले ठगी, संगठित अपराध, सरकारी कीर्ते, राज्यविरुद्धको प्रतिकुल कार्य लगायत कसुरमा मुद्धा चलाउन राय दिने तयारी गरेको छ। स्रोतका अनुसार केही प्रतिवादीविरुद्ध सम्पत्ती शुद्धिकरणमा पनि अुनसन्धान गर्न प्रहरीले सम्पत्ती शुद्धिकरण विभागलाई पत्र लेख्दै छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरि अनुसन्धान सुरू भएको थियो ।