Breaking

देउवाको मौनता, खाँणलाई जोगाउँदा काँग्रेसमा भाँडभैलो (भिडियोसहित)


काठमाडौँ – नक्कली भुटानी शरणार्थी सम्बन्धि प्रकरणले सिंगो देश तरंगित बन्दा काँग्रेस सभापति शेरबहादुर देउवा मौन छन् ।

एमाले अध्यक्ष ओली बोले, प्रधानमन्त्री प्रचण्डसहित संसदमा सहभागि सबै दल बोले । तर देउवाको मौनतामाथि शंका भइरहेको छ । आफ्नै विश्वास पात्र बालकृष्ण खाँण पक्राउ परेपछि बद्नियसबस् बोली बन्द गरेका काँग्रेस सभापति शेरबहादुर देउवा हिजोआज बोलेका छैनन् ।

यसैपनि बोल्न नजान्ने वा नमान्ने पात्रका रुपमा परिचित देउवाले लेखेरै भएपनि बोल्नुपर्ने जिम्मेवारीमा छन् । यस्तो गम्भीर मुद्दामा सत्ता गठबन्धनको नेतृत्व गरेका देउवाको आवाजको खोजि भइरहेको छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा देश बोलिरहेका बेला देउवा भने मौन छन् । यसर्थ यसलाई खाँण बचाउने कुनियतका रुपमा शंका भइरहेको छ । केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका खाँणलाई जोगाउन देउवाले जग हसाउने गरि संरक्षणको चुकुल मारेपछि पार्टीभित्रै मन्दमन्द विद्रोहले गन्ध फैलिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ मा संसदको रोस्टमै उभिएर बोल्छु भन्ने घोषणा गरेपछि त्यहि दिन काँग्रेस महामन्त्री गगन थापाले पदाधिकारीको बैठकमै देउवालाई पनि बोल्न आग्रह गरेका थिए । तर ‘सेल सकिएको रेडियो’ जस्तो देउवा बन्द छन् । नत उनले खाँणलाई निलम्बन नगर्नुको कारणबारे बोल्न सकिरहेका छन् । दुई महामन्त्रीसहितका नेताहरु खाँण निलम्बनको पक्षमा उभिएपनि बहुमतको आडमा रहेका देउवाले सुन्न पनि छोडेका छन् ।

यसैकारण काँग्रेस नेता खाँणमात्रै नभएर सिंगो काँग्रेस नै भ्रष्टाचारीको पार्टीजस्तो बनेको छ । झन देउवाकै पत्नी आरजु राणाको नामसमेत अग्रस्थानमा मुछिएपछि देउवा नबोल्दा धेरै कुरा सुनिएको छ । जसले भित्रभित्र उनले उपद्रो मच्चाएको आशंकामात्रै होइन नबोलेपनि धेरै कुरा गर्न सक्ने देउवाले आफ्नै पत्नी आरजुलाई जोगाउन बोली बन्द गरेको टिप्पणी भइरहेका छन् । फलतः काण्डमा नाम आएपनि कानुनले कठालो नसमातेपछि आरजु उल्टै ठूलो स्वरमा बोल्दै हिडिरहेकी छिन् ।

देउवा नबोल्नुको फाइदा आरजुको नाम नै नभएको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको छ । जबकि पक्राउ परेका सचिव टेकनारायण पाण्डे आरजुकै भाई भुषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच बनाइ गृहसचिव बनेका थिए । खाँणकै पालामा गृहमा आएका उनी अहिले पक्राउ परेपनि आरजुलाई जोगाउन प्रमुख भूमिका खेलेको चर्चा छ । देउवा नबोल्नुको फाइदा बालकृष्ण खाँण पनि सायद धरौटीमै रिहा हुनसक्छन् भन्ने लख काटिएको छ । देउवा नबोल्नुको फाइदा फरार भनिएकी मञ्जु खाँण एकाएक संसदमा देखिएकी छिन् ।

यद्यपी अनुसन्धानमा चनाखो बनेको प्रहरी सजिलै उन्मुक्ति दिने पक्षमा छैन । तर सभापति नै मौन रहेपछि संस्थागत दृष्टिकोण नै दबाएको काँग्रेसभित्र पार्टीको धारणा बाहिर आउनुपर्ने आवाज उठिरहेको छ । तर देउवाले न मौनता तोडेका छन्, न यसबारे धारणा तय गर्न पार्टीको औपचारिक बैठक नै बोलाएका छन् । बरु प्रत्येक दुईमहिनाभित्र कम्तीमा एकपटक भएपनि बोलाउनुपर्ने बैठक ९ महिनादेखि नबोलाएर देउवाले विधान नै बाँधिदिएका छन् ।

आम रुपमा देउवा नबोलेपनि बालुवाटार र सिंहदरबारको चक्कर काट्न दौड चलाइरहेका छन् । प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष ओलीसँग चारपटक बैठक बसे । सिंगो प्रकरणभन्दा पर गएर आफ्नै नेताको बचाउमा मात्र देउवा बोलेको स्रोतको भनाइ छ ।