Breaking

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै, ३२ जनालाई राज्यविरूद्धको मुद्दा दर्ताको तयारी (भिडियोसहित)


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन शुक्रबार नै बुझाउनु पर्ने भए पनि थप दुई जना पक्राउ परेपछि प्रहरीले आज प्रतिवेदन बुझाउने तयारी थालेको छ ।

पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध मुद्दा दर्ताको तयारी प्रहरीको छ । प्रहरीले पक्राउ परेकाहरुको बयान लिने काम भने सक्याएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनासहित ३२ जनामाथि राज्यविरुद्धको कसुरसहित संगठित अपराध, ठगी र किर्तेसम्बन्धी मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

बिहिबार पक्राउ परेका टेकनाथ रिजाल र शमशेर मियाँसँग शनिबार बयान लिएको प्रहरीले आज प्रतिवेदन बुझाउने भएको हो । योसँगै पक्राउ परि थुनामा रहेका दुई पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित सबै अभियुक्तमाथिको बयान पनि सकिएको छ । अब सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाए लगत्तै मुद्दा दर्ता भएर अदालतमा थुनचेक बहस हुनेछन । प्रहरीको प्रतिवेदनले अभियुक्तमाथि राज्यविरुद्धकै मुद्दा चल्ने सम्भावना बलियो बनाएको छ । त्यसबाहेक झण्डै सातवटा मुद्दा उनीहरुमाथि आकर्षित भएका छन् ।

राज्यका विभिन्न ओहदामा बसेर आफ्नै नागरिकलाई अनागरिक बनाउने धन्धा चलाएको भन्दै पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँण र सरकारका सचिव टेकनारायण पाण्डेसहित नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, काँग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र खाँणका स्वकिय सचिव नरेन्द्र केसीविरुद्ध राज्यविरुद्धको अपराधसहित अख्तियारमार्फत थप अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ । जुन कसुरमा उनीहरुमाथि ५ बर्ष कैद र ५० हजार जरिवाना हुनेछ । ठगीमा ७ वर्ष, किर्तेमा साढे ३ वर्ष र राष्ट्रहित प्रतिकूलको कसुरमा साढे २ वर्षसहित १३ वर्ष कैद सजाय हुन सक्ने सम्भावना छ । त्यसमा पनि संगठित अपराधमा थप ५० प्रतिशत कैद हुने भएको र सातवटै अभियोजन आकर्षित भए झण्डै २८ बर्ष कैद सजाय हुनसक्ने विज्ञहरुको भनाइ छ । तर आशंका गरिएका व्यक्ति अनुसन्धानको दायरामै नआएको प्रति आमरुपमा प्रश्न उठेको छ ।

आमजनले आशंकाले हेरेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, काँग्रेस नेतृ आरजु राणा देउवा, मञ्जु खाँण र अख्तियार प्रमुख प्रेम राईको नाम नै प्रतिवेदनमा उल्लेख नभएको विषयले उनीहरु उम्किएको अर्थ दिन्छ । जबकि बयानका क्रममा उनीहरुको नाम पटकपटक उल्लेख भएको थियो । तथापी प्रतिवेदन बुझाएपनि प्रमाण फेला परे पक्राउ गर्ने प्रहरीका दाबी छ ।