Breaking

शरणार्थी प्रकरण थप पेचिलो बन्दै, पक्राउ परे भुटानी शरणार्थीका नेता,आरजु र बादलमाथि चुलियो प्रश्न


काठमाडौँ — अनुसन्धानको समय सकिँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ पात्रको पर्दाफास भइरहेको छ । यसपटक यो प्रकरणमा सक्कली भुटानी शरणार्थीका नेता नै पक्राउ परेका छन् । तर अपेक्षा गरिएका उच्चपदस्थलाई भने उन्मक्ति दिने छनक मिलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अन्तिमतिर पुग्दै गर्दा नयाँ–नयाँ तथ्यहरु मात्रै सार्वजनिक भइरहेका छैनन्, राजनीतिक वृत्त झन झन तात्तिँदै गएको छ ।

प्रकरणमा मुछिएका पात्रहरुको प्रतिनिधित्व गर्ने पार्टीहरुले सोचि सम्झी वकालत गरिरहेका छन् । प्रकरणबाट अहिलेसम्म टाढै रहेका पार्टीहरुले भने कडाभन्दा कडा सजायको माग गर्दै खबरदारी गरिरहेका छन् । तर प्रहरीको अनुसन्धान अन्तिमतिर पुग्दा पेचिलो बनिरहेको छ । पछिल्लो अपडेटलाई केलाउँदा प्रहरीलाई अनुसन्धानका लागि पर्याप्त समय अझै पुगेको छैन । शंकाको घेराभित्र रहेकाहरु अनुसन्धानको दायरामा आउँदैछन् । प्रतिवेदन बुझाउने समय शुक्रबारसम्मका लागि मात्रै छ । तर बिहिबार नै थप दुईजना पक्राउ परेका छन् ।

बिहीबार मात्रै प्रहरीले हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्न रहेको खुलेपछि एक साता अघिदेखि सम्पर्कबाहिर रहेका उनी कार्यालयका कागजात बाहिरै मगाएर काम गरिरहेका थिए ।

बिहीबार बिहान सिंहदरबार भित्रैबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेकै दिन नक्कली भुटानी शरणार्थीको प्रकरणमाथि अनुसन्धान चलिरहेका बेला सक्कली भुटानी शरणार्थी नै पक्राउ परेका छन् । यति हुँदा पनि ठूला नेता अनुसन्धान बाहिरै रहेको विषयमा सांसदहरुबाटै प्रश्न उठिरहेको छ ।

बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता रिजालले पछिल्लो समय पुनर्बास गराउन बाँकी रहेका ६ हजारभन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै सरकारलाई दबाब दिइरहेका थिए । उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि २०७६ मा जेठ ३० मा बालकृष्ण पन्थी नेतृत्वको कार्यदल गठन गरेको थियो । तर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने असली धन्दामा असली भुटानी मुछिएको भेटिएपछि प्रहरीले झापाबाट पक्राउ गरि काठमाडौं ल्याएको हो ।

यसको योजनाकारका रुपमा रहेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए । सोही आधारमा उनी पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ । अब रिजालले दिएको बयानका आधारमा थप रहस्योउद्घाटन हुनेछन् । योसँगै हालसम्म पक्राउ पर्नेको संख्या १६ पुगेको छ । अब प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्धा दर्ता गर्नेछ ।

अपेक्षा धेरै ठूला पात्रको गरिएपनि अनुसन्धानमा एक पूर्वउपप्रधानमन्त्री र एक पूर्वगृहमन्त्री पक्राउ परेको विषय नै प्रहरीले सबैभन्दा ठूलो उपलब्धी मानेको छ । पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँड अनुसन्धानको दायरामा आएपछि उनीसँगै नाम पोलिएकी खाँड पत्नी मञ्जुको व्यापक चर्चा चलेको थियो । तर उनको अवस्था अहिलेसम्म अज्ञात छ । उनीसँगै अडिओ टेपमा मुछिएकी देउवा पत्नी आरजुलाई पनि उन्मुक्तिकै अवस्था छ ।

एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल र पूर्व गृहसचिव रहेका अख्तियार प्रमुख प्रेम राई अनुसन्धानमा तानिएका छैनन् । जबकि थापा र राईकै पालामा ठगि श्रृंखला सुरु भएको थियो । राईलाई बिचौलियाले रकम नै दिएको बयान दिएका छन् भने इन्द्रजित राईको मोबाइलमा थापा समेत संलग्न रहेको प्रमाण फेला परेको स्रोत बताउँछ ।