Breaking

माधवलाई पार्टी धान्नै मुश्किल, प्रचण्ड र देउवाको हेला, ओलीले एमाले फर्काए कार्यकर्ता,अलपत्र समाजवादी मोर्चा


काठमाडौँ — तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालमा पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएका माधव कुमार नेपाल अन्ततः उनकै सहारामा नयाँ राजनीतिक शक्तिको जन्म गराए । नेकपा एकीकृत समाजवादी गठनपछि निरन्तर प्रचण्डको छायाँमा रहेर अघि बढेका नेपाल प्रचण्डसँगै कांग्रेससँग काँध मिलाउन पुगे । सत्ता साझेदार दलहरुकै सहारामा चुनावी मैदानमा होमिएका माधव नेपालले अहिले भने आफ्नो र पार्टी दुबैको औचित्य गुमाउँदै गएका छन् । केपी ओलीसँग राजनीतिक संस्कार नभएको र पार्टी चलाउने ढंग नभएको भन्दै धारे हात लगाउँदै नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव कुमार नेपाल अहिले आफैं स्खलित हुँदै गएका छन् ।

नेकपा एमालेसँग अलग्गिएर नयाँ पार्टी खोेलेको झण्डै २ वर्ष भयो, तर पार्टीभित्रको भद्रगोल झन् बढ्दो छ । १५ वर्षसम्म एमालेको महासचिव भएर एकछत्र राज गरेका पार्टी अध्यक्ष नेपालले आफ्नै अस्तित्व गुमाउँदै जाँदा त्यसभित्र रहेका प्रभावशाली नेताहरुको राजनीतिक भविश्यसमेत संकटमा पर्दै गएको छ । माधव नेपालm राष्ट्रिय राजनीतिमा सक्रिय त छन् तर, पार्टीमा गठबन्धन नै बढी हावी हुँदै जाँदा उनको प्रभाव खस्कँदो छ । एकल निर्णय गर्न नसक्ने उनले गठबन्धनकै साहारामा पार्टी चलाउन खोज्दा पार्टी भित्रकै नेताहरु असन्तुष्ट छन् । आम निर्वाचनमा पनि राष्ट्रिय दल बन्न नसकेको पार्टीले गठबन्धनकै भरमा बल्लतल्ल १० सिट जितेर २ जनालाई मन्त्री बनाउन सफल भएका छन् ।

तर अरु सांसदहरु मन्त्री बन्न नपाएको झोँक पोखिरहेका छन् । यद्यपि मन्त्री बनेकाहरुले पनि भनेजस्तो काम गर्न सकिरहेका छैनन् । मालदार मन्त्रालय आफ्नो भागमा पार्न असफल बनेको पार्टी संसदीय समितिको नेतृत्व गर्नबाट भने चुकेको छ । मन्त्रीमा व्यवस्थापन गर्न नसकेको नेपालको संसदीय समितिमा पनि हात खाली भएको छ । अचम्मको कुरो अहिले माधवको पार्टी एकीकृत समाजवादी सरकारमा सामेल छ । तर, उनकै पार्टी सडकमा सरकारकै विरोधमा उत्रनु परेको छ ।

आफू कमजोर बन्दै गएको कुरामा अध्यक्ष नेपाल अनविज्ञ छैनन् । त्यसैले उनले विभिन्न राजनीतिक शक्तिसँग पार्टी एकताको प्रस्तावलाई अघि बढाइरहेका छन् । राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादीले मधेश केन्द्रीत दल जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव राखेको धेरै समय भयो । तर माधवको प्रस्ताव जसपा अध्यक्ष उपेन्द्र यादवले सिधै अस्वीकार गरे । जसपातिरबाट एकताको ढोका बन्द भएपछि उनी समाजवादी केन्द्रको मोर्चा बनाउने प्रयासमा प्रचण्डतिर लम्किए । तर यसबारे अहिले नै समाजवादी केन्द्र बनाउनेतिर प्रचण्डले ध्यान नै दिएनन् ।

विस्तारै शक्ति घटाउँदै लगेका माधव नेपाल पटक–पटक प्रचण्ड, केपी ओली र देउवा छलफलमा जुटे पनि माधव नेपाल भने बाइपास भइरहेका छन् । नीति तथा कार्यक्रमदेखि जुनसुकै छलफलमा बालुवाटारमा तीन दलको शीर्ष नेताहरु उपस्थिति हुँदा माधव नेपाललाई बोलावट गर्न छाडिएको छ । पार्टी फुटाउन सक्रिय रुपमा लागेका नेता रामकुमारी झाँक्री लगायत नेताहरु अहिले गल्ती भएको महसुस गर्न थालेका छन् । पार्टी फुटाउनुको तात्पर्य र उद्देश्य सिद्ध गर्न नसके पार्टीको अस्तित्व मेटिदै जाने उनीहरुको अभिव्यक्ति सार्वजनिक मञ्चबाटै सार्वजनिक हुन थालेको छ ।

माधवको हितैसी बनेका प्रधानमन्त्री प्रचण्ड देउवा ओलीसँग मिलेर काम गरिरहेका छन् । प्रधानमन्त्री भईसकेको प्रचण्डले माधवको आवश्यक नरहेको महसुस गर्न थालिसकेका छन् । जसको परिणाम मन्त्रिपरिषद्, सदन, संसदीय समिति सबै ठाउँमा देखिएकै छ । गठबन्धनले जति नै पेलेर अघि बढे पनि माधवको विकल्प प्रचण्ड बाहेक अरु देखिदैन । या भनौँ प्रचण्डले जहाँ जे भन्यो त्यहि गर्नुपर्ने अवस्थामा माधव नेपाल पुगेका छन् ।

पार्टी स्थापना भएको दुई वर्ष नपुग्दै नेताहरु पुरानै घर एमाले फर्कने मनसायमा पुगेका छन् । पार्टी भित्रै भएका नेताहरुमा पनि असन्तुष्टि बढ्दै छ । माधवलाई गठबन्धनले गर्ने व्यवहार र पार्टीभित्र देखिएको असन्तुष्टिको व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । पार्टीलाई थप मजबुत बनाउन नसक्दा पार्टीको औचित्यमाथि नै प्रश्न उठेको छ ।