Breaking

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न–हेलिकोप्टरको भाडा कसले तिने ?लडाकु शिविरमा घोटला प्रकरण के हो ?


काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवाल–जवाफ चलेको छ । बिहीबारको बैठकमा सांसदहरुलाई सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विद्येयक, क्यानटोनमेन्टमा भएको भनिएको घोटला प्रकरणलगायतबारे प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने रक्षात्मक जवाफ फर्काएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुबीच सवाल–जवाफ भएको छ । त्यसअघि सांसदहरुले सोध्ने प्रश्न नै आउट भएकोमा सांसदले आपत्ति जनाए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि यसरी प्रश्न बाहिरिनु राम्रो नभएको भन्दै कतै आफूले दिने जवाफ पनि बाहिरिएको त छैन भनेर आफूले सोधखोज गरेको बताए । बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि माओवाली लडाकु शिविरमा भएको भनिएको घोटला प्रकरणसम्मका प्रश्न उठाए । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा भीआईपी र भीभीआईपी व्यक्ति पनि तानिए के गर्नुहुँछ ? भनेर प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा जुनसुकै भीआईपी र भीभीआईपी संलग्न देखिए पनि पक्राउ गरेर छानबिन हुने र दोषी देखिएमा कारबाही हुने बताए । बैडकमा माओवादी लडाकु शिविरमा भएको भनिएको घोटलाको विषयमा पनि प्रश्न उठ्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे उजुरी परेको छ भने आयोगले अहिलेसम्म छानविन नै नगरी तामेलीमा राखेको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले क्यानटोनमेन्ट प्रकरणको छानविन गर्न आफू तयार रहेको र यदि दोषी भए आफू जेल जान तयार रहेको बताए । तर, बाहिर आएको जस्तो लडाकु शिविरमा कुनै घोटला नभएको भन्दै चोख्खिन खोजे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित लामो समयदेखि सडकसहित सदनसम्म आन्दोलन भइरहेको छ । तर, अहिलेसम्म आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । यसबारे उठेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतको आदेशका कारण सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसकिएको गोलमोटल जवाफ दिए । भर्खरै सम्पन्न उपचुनावमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरु हेलिकोप्टर चढेर निर्वाचन क्षेत्र गएको विषय पनि बिहीबारको प्रतिनिधिसभा बैठकको प्रश्न बन्यो । तर रास्वपा सांसद खनालको यो प्रश्नमा प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

बैठकमा यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले पारित नगरेको तर अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्न लागेकोबारे पनि सांसदहरुले प्रश्न गरे । जवाफमा प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताए । बैठकमा दरबार हत्याकाण्डसहित भयानक र विभत्स हत्याकाण्डहरुको छानविन गर्नुपर्ने विषयमा पनि सांसदहरुले प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डसहित भयानक र विभत्स हत्याकाण्डहरुको पुनः छानविन हुनुपर्ने बताए । नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डहरुको नयाँ शिराबाट छानविन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्डले आफूलाई उम्याए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्यौलता र देशको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधिनताबारे एमाले सांसदले प्रश्न उठाए । जवाफमा प्रधानमन्त्री प्रचण्डले यो विषयमा कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्न खोजे । यो विषयमा अझ प्रष्ट पार्दै उनले आफूहरु नेपालको एक इन्च जमिनपनिछोड्न नसक्ने बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० सांसदले प्रश्न सोधेका थिए । उनीहरुले सरकारी स्कुलको गणस्तरीयता, देशको अर्थतन्त्र, आर्थिक संकट, द्धन्दकालिन मुद्दाको निरुपण, तराई मधेस र थारुहट आन्दोलन, किसानहरुलाई समयमै मल र बिउ उपलब्ध गराउनुपर्ने, भ्रष्टाचारसम्बन्धी ऐन र नियमलगायतबारे प्रश्न उठाएका थिए ।