विदेश

पाकिस्तान टुक्रिने पूर्वप्रधानमन्त्री इमरानको चेतावनी


काठमाडौँ — पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन् । जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए । पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन । संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र पाकिस्तानी सेनाको बदनाम हुनुसँग उनीहरूलाई कुनै मतलब नभएको भन्दै खानले चर्को आलोचना गरे । उनीहरूले सत्तामा रहँदा लुटेको सम्पत्ति जोगाउन स्वार्थका लागि काम गरिरहेका छन् ।

उनले भने, ‘देश विनाशतर्फ अघि बढेको डरलाग्दो सपना देखिरहेको छु । म सरकारलाई चुनाव गराउन र देश बचाउन आग्रह गर्छु । इस्लामावाद उच्च अदालत परिसरबाट मे ९ तारिखमा उनलाई गिरफ्तार गरिएपछि भड्किएको हिंसाको बारेमा सोध्दा खानले सत्तारूढ गठबन्धन र पञ्जाब सरकारले आयोजना गरेको षड्यन्त्र भएको बताए । डन’ अखबारले पूर्वप्रधानमन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘सत्तामा बस्नेले संवेदनशीलताका साथ सोच्नुपर्ने वेला आएको छ, नत्र देशमा पूर्वी पाकिस्तान जस्तो अवस्था आउन सक्छ।’ पूर्वी पाकिस्तान आजको बंगलादेश हो । इमरानले देश टुक्रन सक्ने चेतावनी दिए ।

सेनाको आलोचनालाई उचित ठहर गर्दै खानले भने, ‘जब मैले सेनाको आलोचना गर्छु, यो मेरो आफ्नै बच्चाहरूको आलोचना गर्नु जस्तै हो । आफूले देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने जानकारी दिए। पूर्व सेनाप्रमुखले मविरुद्ध षड्यन्त्र गरेको स्पष्ट जानकारी हुँदा पनि मैले हस्तक्षेप गरिनँ । खानको जमाँ पार्कको घरमा करिब ४० आतङ्ककारी लुकेर बसेको पञ्जाब सरकारको दाबीको जवाफ दिँदै खानले खोजी वारेन्ट लिएर आफ्नो घरमा आउन भने । उनले भने, ‘तर यसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दल पीटीआईलाई दबाउन सुरु गर्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन ।

खानले हालैको सर्वेक्षण अनुसार पाकिस्तानको ७० प्रतिशत जनसङ्ख्या पीटीआईसँग रहेको र बाँकी ३० प्रतिशत सत्तारुढ गठबन्धनमा रहेका अन्य सबै दलहरूसँग रहेको बताए । भिडियो सन्देशपछि इमरान खानले मिडियाका प्रतिनिधिहरूलाई आफ्नो घरमा आतंकवादीहरू लुकेका छन् कि भनेर हेर्न आफ्नो निवासमा जान अनुमति दिए। खानको घरमा पुगेका संवाददाताहरूले त्यहाँ घरेलु कामदार र केही प्रहरी मात्र देखेको बताएका थिए ।