Breaking

बयानमा खुल्दै नयाँ तथ्य, नक्कली सरकारी कर्मचारी खडा, पेचिलो बन्दै अनुसन्धान, अनुसन्धान लम्बिँदै


काठमाडौँ — नक्कली शरणार्थी प्रकरणका आरोपीहरुमाथि ६० दिन अनुसन्धानको समय पाएको प्रहरीले थप तीनदिन हिरासतमा राख्न अनुमति पाएको छ । अनुसन्धान अन्तिमतिर पुग्दै गर्दा थप तथ्य सार्वजनिक हुँदै गएपछि प्रहरीकै आग्रहमा समय थपिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमाथि संगठित अपराधको अनुसन्धान गर्ने हदम्याद ६० दिन निकट पुग्दै गर्दा प्रहरी थप तथ्य र प्रमाणहरु जुटाउन सफल हुँदै गएको छ । हाईप्रोफाइल नै अनुसन्धानमा तानिएपछि यतिबेला राजनीतिक वृत्त हुँदै आम नागरिक तहमा पनि चासो बढेको छ । सरकारी वकिलको कार्यालयले प्रहरीलाई दिएको समयको पाबन्दी सकिनै लाग्दा गृह मन्त्रालय नै गिरोहको आखडा बनेको रहस्य खुलेपछि थप तथ्यमाथि प्रहरी खेल्न थालेको हो ।

गिरोहले काठमाडौैं उपत्यकामा तीनवटा कार्यालय सञ्चालन गरि फोटो खिच्नेदेखि फारम भर्नेसम्मका किर्ते सरकारी कर्मचारी खडा गरेको खुलेको छ । सरकारी पोसाकमै ठाटिएका उनीहरुले गिरोहकै योजनाअनुसार काम गर्दै आएका थिए । बुधबारमात्रै प्रहरीले अनुसन्धान नसकिएको भन्दै पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहितका १४ जनाको म्याद थपेको छ भने पक्राउ पुर्जी जारी भएका दुईजनाको खोजी पनि जारी नै छ ।युएनएचसीआरले तयार पारेको फाइल र गृहमन्त्रालयको फाइल नै फरक परेपछि यतिबेला प्रधानमन्त्री कार्यालयमा रहेको फाइल तर्फ प्रहरीको ध्यान मोडिएको छ ।

तत्कालिन गृहसचिव प्रेम राईले टिप्पणी उठाएको प्रतिवेदन साटफेर भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।गृहकै गाडीमा राखेर करोडौं पैसा ओसारेको खुलेपछि प्रहरीले गाडीसमेत नियन्त्रणमा लिएको छ । जसले सिंगो गृहप्रशासन नै संलग्न भएको प्रमाण खुल्दै गएको छ । जसले अनुसन्धानमाथि थुप्रै प्रश्न उठाएको छ । तर गृहमन्त्रीलाई आश्वस्त पारेका छन् ।पूर्वगृहमन्त्री खाँणसँग १२ घण्टासम्म निरन्तर चलेको बयानमा नयाँ तथ्य खोल्न खोजिएपनि ‘होर होइन’मा जवाफ दिएका उनले आफु निर्दाेष रहेको दाबी गरेका छन् ।

जसका कारण उनकै अनुसन्धानका आधारमा थप पक्राउ पर्ने सम्भावना अन्त्य भएको देखिन्छ । यतिधेरै भीआईपीहरु विवाद र अनुसन्धानमा तानिएपनि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई सरकारले उन्मुक्ति दिन खोजेको आरोप यतिबेला लागिरहेको छ । केही बयानकर्ता बयानै ओकलेपनि उनीविरुद्धको प्रमाण फेला नपरेको हो ? वा राजनीतिक नेतृत्वको संरक्षण पाएर हो, उनी अनुसन्धानको दायरामा आएका छैनन् । जसले धेरै खाले आशंकाहरु सतहमा छन् ।

शुक्रबारसम्म अनुसन्धानलाई पूर्णता दिई सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने प्रहरीको तयारी भएपनि आइतबार नै मुद्धा दर्ता गर्ने वा समय थपेर केहीदिन अनुसन्धानतर्फ केन्द्रीत बन्ने एकिन भएको छैन । यता, अभियुक्तलाई नेताहरुले थुनामै गएर भेटेका विषयले अनुसन्धान प्रभावित हुँदै त छैन भन्ने आशंका स्वभाविक बनेको छ । तर सिंगो देश र विदेशीहरुको चासोसमेत यो प्रकरणमा परेकाले सजिलै उम्किन र कसैलाई उम्काउन सहज छैन ।