काठमडौँ — द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड डलर चाहिएको जनाएको छ । गत अप्रिल १५ मा सुडानमा रक्तपातपूर्ण द्वन्द्व सुरू भएपछि सहायताको अपेक्षा गर्नेको संख्या ह्वात्तै बढेको जनाउँदै राष्ट्रसंघले आफ्नो सुडान सहायता योजनामा परिमार्जन गरिएको बताएको छ ।
जेनेभास्थित राष्ट्रसंघीय मानवीय सहायता निकायका प्रमुख रमेश राजासिङ्घमले सुडानमा दुई करोड ५० लाख जनसंख्यालाई मानवीय सहायता र संरक्षणको आवश्यकता भएको पत्रकारहरूलाई बताएका छन् । सेना प्रमुख अब्देल फताह अल बुर्हान र उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच युद्ध चर्केपछि सुडानमा गम्भीर मानवीय संकट भएको छ । चिकित्सकहरूका अनुसार करिब एक हजार मानिसले ज्यान गुमाएका छन्भने पाँच हजारभन्दा बढी घाइते भएका छन् । राजधानी खार्तुम र आसपासका क्षेत्रका साथै पश्चिम डार्फरमा अधिक हताहति भएको छ ।
प्रतिक्रिया