काठमाडौँ — १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ । बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् । नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ असारमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलुरुको श्री कान्तीराभा रंगशालामा यो खेल नेपाली समयअनुसार अपराह्न पौने चार बजेदेखि सुरु हुनेछ । सोही दिन साँझको खेलमा समूह ए कै भारत र पाकिस्तान भिड्नेछन् । नेपालले ९ असारमा भारतसँग समूहको आफ्नो दोस्रो खेल खेल्नेछ ।
यो खेल सोही रंगशालामा साँझ पौने ८ बजेदेखि सुरु हुनेछ । समूहको अन्तिम खेल नेपालले १२ असारमा खेल्नेछ । यो खेल अपराह्न पौने ४ बजेदेखि सुरु हुनेछ । समूह ‘बी’मा लेबनान, भुटान, बंगलादेश र माल्दिभ्स परेका छन् । भारतले चौथो पटक साफ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । विश्व फुटबल महासंघ ९फिफा०को प्रतिबन्धका कारण यो संस्करण श्रीलंकाको भने सहभागिता छैन । कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् । साफ च्याम्पियनसिपको १४ औं संस्करण बंगलादेशमा हुने भनिएको थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि प्रतियोगिता भारतमा सारिएको हो ।
साफ च्याम्पियनसिपमा भारत साविक विजेता टोली हो । नेपाल भने साविक उपविजेता हो । साफ च्याम्पियनसिपको १३औं संस्करणको फाइनलमा भारतले नेपाललाई ३(० गोलले हराएको थियो । भारतले हालसम्म सर्वाधिक ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । नेपालले हालसम्म २ पटक साफ च्याम्पियनसिप आयोजना गरेको छ । नेपालले सन् १९९७ र सन् २०१३ मा प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको पहिलो संस्करण भने सन् १९९३ मा पाकिस्तानमा आयोजना भएको थियो ।


प्रतिक्रिया