Breaking

रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी


काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहा नभएसम्म नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । सो पार्टीले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गर्दै सो पार्टीले कोणसभा र प्रदर्शनबाट माग पुरा नभए नेपाल बन्दसम्मको कार्यक्रम ल्याउने घोषणा गरेको छ । नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी रेशम चौधरीलगायत टीकापुर घटनामा मुछिएर जेलमा रहेकालाई रिहा गर्न माग गरे ।

यी माग पुरा नभए नेपाल बन्द सम्मका कार्यक्रम ल्याइने बताउँदै उनले पाँच गतेसम्म देशैभरि कोणसभा तथा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताए । त्यसपछि पनि माग पुरा नभए जेठ ६ गतेदेखि नेपाल बन्द कार्यक्रम ल्याउने चेतावनी उनले दिए । यो अदालती मुद्दा नभई राजनीतिक मुद्दा भएकाले सरकारले तत्काल लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा पण्डितले जोड दिए ।