Breaking

२७औँ पटक सगरमाथाको शिखरमा कामिरिता, तोडे आफ्नै विश्व रेकर्ड

शेर्पाको अर्को कीर्तिमानी


काठमाडौँ – प्रख्यात कीर्तिमानी हिमाल आरोही कामिरिता शेर्पा २७औँ पटक सगरमाथाको शिखरमा पुगेका छन् ।
आफ्नै विश्व रेकर्ड तोडेदै शेर्पाले आज विहान ८ बजेर ३० मिनेटमा २७औँ पटक सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

कामिरिता शेर्पाले २७औं पटक सगरमाथा आरोहण गरी नयाँ विश्व रेकर्ड बनाएका हुन् । सोलुखुम्बुका शेर्पाले अघिल्लो वर्ष २६औं पटक हिमाल आरोहण गरी विश्व कीर्तिमान राखेका थिए ।

सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । शेर्पा सेभेन समिट ट्रेकका सिनियर गाइड हुन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उनकै जिल्लावासी पादावा शेर्पा छन् । पासाङ दावाले पनि २६ पटक सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । उनले केही दिनअघि मात्र कामीरिताको कीर्तिमानीसँग बराबरी गरेका थिए ।