काठमाडौँ – समाज र राष्ट्रलाई गहिरो प्रभाव छोड्ने थोरै नेता मध्ये पर्छन् जननेता मदन भण्डारी । अन्य थुप्रै अनुयायीका लागि जस्तै मेरा लागि पनि मदन भण्डारी आस्था र श्रद्धाका प्रतिक हुन उर्जा, उत्साह र प्रेरणाका स्रोत हुन् ।
आज मदनले संसार छाडेर गएको पनि ३० वर्ष भएछ । त्यो भयावह कालो दिनको तिसौं वर्षगाठ तथा मदन-आश्रितको ३० औं स्मृति दिवस मनाउँदै गर्दा नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीका वचन र कर्मबाट आजका युवा पुस्ताले के सिक्ने त भनेर एकपटक सोचमग्न भए । यसै अवसरमा उहाँका जीवनका केही घटनालाई आधार बनाएर अहिलेको पुस्ताले अनुसरण गर्नुपर्ने पाँच कुरा तल उल्लेख गरेको छु ।
१. गतिशीलता
मदन भण्डारीमा समाजको अवस्था र समयको मागलाई बुझ्नसक्ने, तदअनुरूप आन्दोलन र पार्टीलाई डोर्याउनसक्ने विछट्टै क्षमता थियो । सिद्धान्त कुनै धार्मिक ग्रन्थ जस्तो समयानुकूल परिमार्जित गर्न नमिल्ने दस्तावेज नभएर विज्ञानमा आधारित गतिशील दर्शन हो भन्ने उहाँको धारणा थियो ।
सिद्धान्तको मूल मर्ममा आधारित रहेर लक्ष्य हासिल गर्न आवश्यक लचकता अपनाउन सक्ने, नयाँ तथ्यको आलोकमा उदेश्य हासिल गर्न नौलो बाटो अपनाउन सक्ने दृढता थियो मदन भण्डारीसंग । त्यसैले त उहाँले जनताको बहुदलीय जनवाद (जबज) जस्तो विचार अगाडि सारेर नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्नुभयो । उहाँको यहीँ गतिशील विचारमा आधारित भएर उहाँले नेतृत्व गरेको पार्टी नेकपा (एमाले) आजपर्यन्त एक प्रमुख राजनीतिक शक्तिको रूपमा स्थापित छ ।
भण्डारी तथ्यबाट सत्य खोज्नेमा विश्वास गर्नुहुन्थ्यो । २०४६ सालको जनआन्दोलन पश्चात् उहाँले विश्वमा कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारण खोतलेर नयाँ तथ्यमा आधारित भएर नेपालको सन्दर्भमा क्रान्तिको मौलिक कार्यक्रमका रूपमा जबजलाई अगाडि सार्नुभयो ।
तसर्थ उहाँ माक्र्स, एंगेल्स, लेनिन, माओ, पुष्पलाल लगायतले जे भनेका थिए त्यहीँ शब्दका शब्द पछ्याउनमा लाग्नुभएन ।गन्तव्यमा पुग्न आफ्ना अग्रजबाट सिक्दै नयाँ तथ्यका आधारमा समयानुकूल परिमार्जित बाटो तय गर्दै पार्टी, समाज र राष्ट्रलाई डोर्याउनु भयो । आजका युवाले पनि तिव्र गतिमा बदलिँदो विश्वलाई आत्मसात गर्दै त्यसै अनुरूप गन्तव्यमा पुग्न नयाँ–नयाँ कार्यक्रमसहित अगाडि आउन आवश्यक छ । यस्तो प्रकारको गतिशीलता राजनीतिमा मात्र नभएर सबै क्षेत्रका युवामा आवश्यक छ ।
२. निर्भीक स्वभाव
भण्डारी सत्यका लागि जोसुकैसंग पनि लड्न पछि पर्नुहन्थेन । एक आमसभामा उहाँले तत्कालीन राजा विरेन्द्रलाई आफूसँग चुनाव लड्न चुनौति दिनुभयो । उहाँको त्यसबेलाको, हात नलम्काई बक्सयोस्, आँखा नचम्काई बक्स्योस्, आफ्ना शण्ड-मुशण्डलाई नचलाई बक्स्योस् र यदि शण्ड-मशुण्डहरूलाई नै चलाउने हो भने, शण्ड-मशुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने, महाराजले पनि श्रीपेच उतारेर सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो ताकि प्रतिद्वन्द्वीता गर्न सकियोस्…; भन्ने भाषण आजपर्यन्त आमजनताको मानसपटलमा ताजै छ । राष्ट्रहितका निमित्त उहाँ जुनसुकै देशीविदेशी शक्तिलाई चुनौति दिन पछि पर्नुहुन्थेन । आमसभाबाटै उहाँले तत्कालीन अमेरिकी राजदूतलाई समेत देशको आन्तरिक मामलामा दखल नदिन चुनौति दिनुभएको थियो । विद्यार्थी छदा भारतमा समेत, बहादुरू; भनेर हेप्ने भारतीयलाई उहाँले तह लगाएको कुरा उहाँबारे लेखिएका किताबमा पाइन्छन् । यसर्थ समाजका व्यापक बेथितिविरूद्व लड्न आजका दिनमा युवा पुस्ताले राजालाई सार्वजनिक रूपमा लल्कार्ने, विदेशीलाई ठाडो चुनौति दिनसक्ने मदन भण्डारीबाट प्रेरणा लिन आवश्यक छ ।
३. आलोचनात्मक चेत र समन्वयकारी स्वभाव
भण्डारी सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालमार्फत कम्युनिस्ट आन्दोलनमा जोडिनुभएको थियो । वि.स. २०२७ मा कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका भण्डारी २०२८ सालमा पुष्पलालद्वारा निर्मित जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य हुनुभएको थियो । तर केही समयपछि उहाँसहित जीवराज आश्रित, मोदनाथ पश्रित लगायतले पुष्पलाल नेतृत्वको समूहले क्रान्ति गर्न नसक्ने निचोडमा पुगेर त्यसबाट विद्रोह गरेर मुक्तिमोर्चा समूह गठन गर्नुभयो। यसरी आवश्यक परे विद्रोह गर्नसक्ने साहस भण्डारीमा थियो । साथै आवश्यक पर्दा आफ्ना विमतिसहित सहकार्य गर्नसक्ने समन्वयकारी स्वभाव पनि उहाँमा थियो ।
२०४७ सालको संविधानमा उहाँले २७ बुदे फरक मत राख्दै आलोचनात्मक समर्थन गर्नुभएको थियो । यसरी उहाँ आवश्यकता अनुसार विद्रोह पनि गर्नसक्ने र समन्वय पनि गर्नसक्ने क्षमता राख्नुहुन्थ्यो । आजका युवा आफ्नो पार्टीको नेताले भ्रष्टाचार गर्याे भनेर प्रकाउ पुर्जीसमेत जारी हुदा अनुसन्धानमा सघाउनु त कता हो कता उल्टो उक्त नेताको पक्षमा विज्ञप्ति निकाल्छन् । यसरी आलोचनात्मक चेत हराएका युवाले समाज र राष्ट्रलाई नेतृत्व प्रदान गर्न सक्दैनन् ।
४. पदप्राप्ति प्रतिको धैर्यता
आज विशेषगरी राजनीति गर्ने युवालाई आफ्नो क्षमता र दक्षताभन्दा ठुलो पद चाहिएको छ। धेरैलाई थाहा नहुनसक्छ मदन भण्डारीले भने आफ्नो मुखमै आएको महासचिव पद दुई–दुईपटक समय भएको छैन भनेर ईन्कार गर्नुभएको थियो । पहिलोपटक वि.स. २०३९ मा पार्टी भित्रको विवादका कारण नेकपा (माले) का तत्कालीन महासचिव सिपी मैनालीले जिम्मेवारीबाट मुक्तहुन खोजेपछि माधव नेपाल लगायतले मदन भण्डारीलाई महासचिव बन्न प्रस्ताव गर्नुभएको थियो तर भण्डारीले आफ्नो बेला भएको छैन भनेर ईन्कार गर्नुभयो ।
यसपछि झलनाथ खनाललाई पार्टी महासचिव बनाईयो । झलनाथ खनाल महासचिव भएको केही समयपछि नै पार्टीमा अन्तरविरोध बढ्दै गयो जसका कारण उहाँलाई हटाउनु पर्ने स्थिति आयो । यसरी दोस्रोपटक फेरि मदनलाई नै महासचिव बन्न प्रस्ताव आयो । यसपटक पनि नेतृत्व लिन हतार गर्नेभन्दा भण्डारीले बरू छिटो महाधिवेशन गरौं भनेर नेतृत्व लिन धैर्यता प्रकट गर्नुभयो जसपश्चात २०४६ को भदौमा सम्पन्न चौथो महाधिवेशनबाट मात्र उहाँ पार्टी महासचिवमा चयन हुनुभएको थियो ।
यसैगरी २०४८ सालको संसदीय चुनावपछि पनि धेरैले मदन भण्डारीलाई संसदीय दलको नेता बन्न प्रस्ताव गरेका थिए तर उहाँले मनमोहन अधिकारी सिनियर नेता हो भनेर अधिकारीलाई नै दलको नेता चयन गर्न भूमिका खेल्नुभयो । यसरी भण्डारीले पद प्राप्त गर्नेभन्दा उक्त पदमा पुगेपछिको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न आवश्यक पर्ने क्षमता र दक्षता विकासमा ध्यान दिएको देखिन्छ । उहाँमा पद प्राप्तिका लागि कुनै आतुरता देखिदैन । आजका युवाले पनि ठुला ठुला पद प्राप्त गर्ने तर उक्त पदलाई न्याय गर्ननसक्ने परिस्थिति निर्माण हुनुहुदैन । तसर्थ पदभन्दा पनि आफ्नो क्षमता, दक्षता र सक्रियतामा आजका युवाले आफ्नो ध्यान केन्द्रीत गर्न आवश्यक छ ।
५. सादा जीवन
मदन भण्डारीले साईकल चढेर बागबजारस्थित आफ्नो पार्टी कार्यालयमा नेता–कार्यकर्ता भेटेको तस्बिर आजपनि ईन्टरनेटमा देख्न सकिन्छ । यहीँ एक तस्बिरले मदन भण्डारीको सादगीलाई स्पष्ट झल्काउछ । उहाँ तडकभडकमा विश्वास गर्नुहुन्थेन । आम जनता जस्तै सामान्य जीवनयापन उहाँलाई रूचिकार थियो । सायद यहीँ सादगी नै उहाँको जीवन लिने अभिसाप बन्यो कि भन्ने मान्छे पनि छन् । यस पंक्तिकारले आफ्नो थेसिस गर्ने क्रममा मदन भण्डारीसंग काम गर्नुभएका मानवअधिकारकर्मी सुशील प्याकुरेलसंग अन्तर्वाता लिने अवसर प्राप्त गरेको थियो । उहाँका अनुसार मदन भण्डारीलाई आफ्नो गाडीको साथै सुरक्षाका दृष्टिले अर्काे एउटा गाडी पनि संगै गुडाउन थुप्रैले सल्लाह दिएका थिए । तर मदनले आफू सामान्य जनताको प्रतिनिधि भएकाले भड्किलो हुन नहुने भन्दै ईन्कार गर्नुभएको रहेछ । सायद अर्काे एउटा गाडी संगै भएको भए इतिहास फरक हुन्थ्यो कि ? यसै भन्न सकिन्न । उहाँको त्यो सादगी आजका दिनमा भड्किलो गरि हिड्ने जोसुकै स्तरका नेता–कार्यकर्ताको लागि प्रेरणा बन्नसक्नुपर्छ ।
३७ वर्षको युवा उमेरमा तत्कालीन नेकपा (माले)को महासचिव चयन हुनुभएका मदन भण्डारी ४० वर्षको अल्पायुमै संसार छोड्दासमेत विश्वले सधैं सम्झिने छाप छोडेर जानुभयो । चर्चित अमेरिकी पत्रिका न्युजविकले त, माक्र्स नेपालमा जीउदै छन् : भनेर उहाँको अन्तर्वार्ता समेत छापेको थियो ।
आजको युवा पुस्ताका लागि मदन भण्डारी एउटा मानक हुनुहुन्छ । उहाँको गतिशीलता, निर्भीक स्वभाव, आलोचनात्मक चेत, समन्वयकारी स्वभाव, पद प्राप्तिप्रतिको धैर्यता र सादगी जीवनशैलीबाट सबैले उत्प्रेरणा लिन आवश्यक छ । यसैगरी धेरैपछिसम्म आगामी पुस्ता उहाँको जीवन र कर्मबाट उत्प्रेरित र उद्देलित भईरहनेछ ।
हार्दिक श्रद्धासुमन पृय कमरेड मदन भण्डारी र जीवराज आश्रित ।
लेखक उपेन्द्र शाही राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य हुन् ।
प्रतिक्रिया