Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

नेपालबाट ५० मेगावाटसम्म विद्युत् बंगलादेशले किन्ने


काठमाडौँ – नेपालबाट तत्काल ४० देखि ५० मेगावाटसम्म विद्युत् खरिद गर्न बंगलादेश इच्छुक देखिएपछि नेपाल र बंगलादेशले भारतको विद्युत् व्यापार निगम लिमिटेडलाई प्रसारणलाइन उपलब्ध गराउन आग्रह गर्ने भएका छन्।

बिहीबार काठमाडौंमा दुई देशका सचिव स्तरीय निर्देशक समितिले ऊर्जा व्यापार सम्झौता अघि बढाउने विषयमा छलफल गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए।
ऊर्जा व्यापारबारे छलफलका लागि बंगलादेशका अधिकारीहरू केही दिनयता काठमाडौंमा थिए । मन्त्रालयका अनुसार बंगलादेशको भेरामारामा अवस्थित संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने देखिएको छ।

जसका लागि नेपाल विद्युत् प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले भारतको एनपीटीसी विद्युत् व्यापार निगम लिमिटेडलाई त्रिपक्षीय सम्झौताका लागि अनुरोध गर्ने सहमति भएको छ।

चार वर्षअघि नेपाल र बंगलादेशले ऊर्जा व्यापार अघि बढाउने समझदारी भएको थियो । जसअनुसार बाङ्ग्लादेशलाई बिजुली बेच्नका लागि भारतको पूर्णियाँ र सिलिगुडीसम्म प्रसारणलाइन निर्माणको काम नेपालले अघि बढाउने भनिएको थियो।

यस्तो प्रसारणलाइन निर्माणका लागि भारतलाई समेत सहभागी गराएर त्रिपक्षीय समझदारीका लागि दुवै पक्षले पहल गर्ने सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तै काभ्रेपलाञ्चोक र रामेछापको सीमानामा पहिचान भएको भनिएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न नेपालले बंगलादेशलाई आग्रह गरेको छ।

आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन नेपालले बंगलादेशलाई यथाशीघ्र उपलब्ध गराउने र बंगलादेशले छिट्टै आफ्नो धारणा दिने सहमति बिहीबारको बैठकमा भएको मन्त्रालयले जनाएको छ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको बताइएको छ।