Breaking

चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने ४ जना पक्राउ


काठमाडौँ – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-२ ढाकाबाङमा चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिकास्थान-२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चारजनाको ज्यान गएको थियो। आगो लगाउने भूमिकास्थान-२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । गत वैशाख २६ गते दुईजना र २७ गते दुईजना गरी चार जनाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचाररत छिन् ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उक्त नियममा ६ महिनादेखि २ वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । अदालतबाट ५ दिनको म्याद थप गरेर घटना अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने रु १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क-३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ । ‘हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ’, प्रनाउ रिजालले भने, ‘फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला ।’