Breaking

कांग्रेसका पूर्वसांसद शेर्पासँग बयान लिइँदै


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाको बयान आज गराइने भएको छ ।

प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका शेर्पाबारे अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले मंगलबार २ दिनको म्याद थपेको छ । शेर्पाले गत सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप उनलाई लागेको छ । खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए ।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन्। यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।