Breaking

हिरासतमा रहेका पूर्वसांसद शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको हो : प्रहरी


काठमाडौँ – प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकामा चोट शौचालयमा लडेर लागेको प्रहरीले दाबी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार उनले हिजो साँझ मात्र प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । तर राति उनको टाउकामा गम्भीर चोट लागेपछि प्रहरीले ट्रमा सेन्टर लगेर टाँका लगाइदिएको छ । अहिले पूर्वसांसद शेर्पा प्रहरी परिसरकै नियन्त्रणमा छन् ।

प्रहरीका अनुसार शेर्पा राति शौचालयमा लडेको र टाउकामा चोट लागेको जनाएको छ । यसअघि प्रहरीले चोटको कारण खुलाएको थिएन ।

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ । खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए । उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए ।

तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् ।