Breaking

बन्दुक निकालेर मेरो श्रीमानलाई लगिस् भने मार्छु भनेँ : आरजु राणा (भिडियोसहित)

शरणार्थी प्रकरण र निजी जीवनबारे आरजु राणाको खुलासा


काठमाडौँ – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य, सांसद तथा सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले योहो टेलिभिजनको सत्य सवाद कार्यक्रममा समाचार प्रमुख जीवराम भण्डारी सँगको अन्तर्वार्तामा शरणार्थी प्रकरणका साथै निजी जीवनका विषयमा पनि थुप्रै नयाँ कुराहरू खोलेकी छिन् ।

अन्तर्वार्तामा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवाको सरकारलाई अपदस्थ गरेको प्रसंग पनि छ । आरजुका अनुसार मध्यरातमा प्रहरी आएर तत्कालीन प्रधानमन्त्री देउवालाई घरबाटै पक्राउ गरेका थिए । पक्राउ गर्न आएका प्रहरीले घरको बत्तीसमेत निभाएको र आफूले प्रहरीलाई बन्दुक देखाएको उनले बताएकी छिन् ।

कांग्रेस नेता बालकृष्ण खाणलाई अदालतको पुर्जीविना प्रहरीले पक्राउ गरेकोमा आपत्ति जनाउँदै उनले यो प्रसंग निकालेकी हुन् । उनले भनेकी छिन् ‘त्यो बेला ज्ञानेन्द्रले पठाएका सिपाहीसँग पनि एरेस्ट वारेन्ट थियो । मध्यरातमा बत्तीसमेत निभाएर प्रहरीहरू एरेस्ट गर्न आएका थिए । म टेरराइज्ड भएको थिएँ । मैले त बन्दुक पनि निकालेको हो । मेरो श्रीमानलाई लगिस् भने आफूलाई नै मार्छु भनेर‘ ।’

उक्त बन्दुक आफूलाई दाइजोमा आएको आरजुले बताएकी छिन् । उनी भन्छिन्, ‘दुई वटा बन्दुक मैले दाइजोमा ल्याएकी थिएँ । खासमा मेरो बिहे गर्ने विचार थिएन । बुढेसकालमा एक्लै बस्नुपर्छ भनेर पहिल्यै बन्दुक किनेर राखेको थिएँ । पछि श्रीमानले ‘राणाजीले बन्दुक पनि दाइजोमा दिन्छन् र ?’ भनेर सोध्नुभएको थियो ।’

शाहीकालको घटनाबारे उनी थप्छिन् ‘मैले प्रतिकार गर्न खोजेपछि श्रीमानले ‘होइन ढोका खोल, बिचरा पुलिसको के फल्ट, म त जान्छु’ भन्नुभयो । अनि मैले माथिबाटै पुलिसलाई कराएँ । अरेस्ट वारेन्ट छ कि छैन ? पहिले बत्ती जोड्नोस् । फोटो खिच्छु । भतिजाहरू मोटर पछिपछि जान्छन् । यो सबै मानेपछि बल्ल ढोका खोलेँ ।’

आरजूले अहिले बुढानिलकण्ठमा भएको घर देउवाले नभएर आफूले बनाएको बताएकी छिन् । त्यहाँको १० विघा जग्गा आफूलाई माइतीले नै दाइजो दिएको र त्यसमा आफ्नो कमाइको पैसाले घर बनाएको उनको भनाइ छ । सांसद बन्नुअघि आफूले विभिन्न आईएनजीओमा कन्सल्ट्यान्टका रुपमा काम गर्दा दैनिक ५०० डलर कमाउने गरेको पनि आरजुले बताएकी छिन् ।