Breaking

प्रहरी हिरासतमै पूर्वसांसद शेर्पाको टाउकोमा गम्भीर चोट लाग्यो


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाको टाउकोमा रहस्यमय तरिकाले गम्भीर चोट लागेको पाइएको छ ।

प्रहरी परिसर काठमाडौँको हिरासतमै रहेका बेला शेर्पाको टाउकामा गम्भीर चोट देखिएको हो । उनलाई ट्रमा सेन्टरमा लगी उपचार गराएर पुनः प्रहरी परिसरमै फर्काइएको प्रहरीले जनाएको छ । तर प्रहरीको नियन्त्रणमा रहेका उनलाई कसरी टाउकामा चोट लाग्यो भन्ने विषयमा प्रहरीले बताउन चाहेन ।

परिसरका प्रवक्ता एसपी सीताराम रिजालले अहिले शेर्पा आफूहरूकै नियन्त्रणमा रहेको र सोधपुछ भइरहेको बताए । तर उनको टाउकामा कसरी चोट लाग्यो भन्ने प्रश्नमा भने रिजालले उत्तर दिएनन् ।

भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुनु पहिले नै फरार भएका शेर्पा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका हुन् ।

उनीविरुद्ध प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो । यो प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको आरोप शेर्पालाई लागेको छ ।

खासगरी शेर्पाले बालकृष्ण खाँणको नाम नलिन हिरासतमै पुगेर सानु भण्डारी र केशव दुलाललाई भेटेका थिए। उनले पीडितको रकम फिर्ता गरिदिने भन्दै खाँणलाई जोगाउन खोजेका थिए । तर, प्रहरीले पूर्वगृहमन्त्री खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । पछिल्लोपटक आइतबार राति नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि पक्राउ परेका छन् ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।