Breaking

ओली–प्रचण्ड र देउवाको भेटमा रास्वपाको आपत्ति, सांसद शाहीको प्रहार कसलाई ?


काठमाडौँ — सोमवारको प्रतिनिधिसभा वैठकमा सांसदहरुको मुख्य प्राथमिकता भ्रष्टचारको विषय नै बन्ने गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई माध्यम बनाउँदै उनीहरु भ्रष्टचारजन्य घटनाको अनुसन्धान र कानुनी व्यवस्थामा समेत प्रश्न उठाउन पछि परेका छैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी अनुसन्धान नसकिन्जुनजेल सांसद पदबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझीको सांसद पद निलम्बनमा परेको जानकारी गराएसँगै उनीमाथि प्रहरीले बयान लिन सुरु गरेको छ ।

उनीसँगै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको बयान लिने काम पनि सकिएको छैन । यो प्रकरणमा दोषी नउम्कन र निदोर्षलाई नफसाउन सडकदेखि सदनसम्मै दबाब छ । उच्च पदस्थ व्यक्तिहरु नै प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि सरकारलाई दवाव दिन सदन र सडक दुवै माध्यम प्रयोग गर्दै आएको छ । भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने रास्वपा सांसद मनिष झाको तर्क छ । प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको तारन्तरको भेटले संसय पैदा भएको उनी बताउँछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विगतको भ्रष्टचारका काण्डहरुको फेहरिस्त संसद बैठकमै सुनाए । उनले सदनमा मुलुकका ठूल्ठूला भ्रष्टाचारका काण्डमा लड्ने हो भने दलभन्दा माथि उठेर कानुन बनाउन तयार हुनुपर्ने बताए । भ्रष्टाचारीलाई आजिवन कारावास र तीनपुस्ते सम्पत्ति जफत गर्ने गरी कानुन बनाएर अघि बढेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने उनको तर्क छ । शाहीले अहिले भ्रष्टाचारविरोधी आन्दोलनमा स्वयं भ्रष्टाचार आरोपित व्यक्ति नै संलग्न भएर आफू पानीमाथिको ओभाने बन्ने प्रयत्न भइरहेका बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर संसद बैठकमा सांसदहरु आरोप–प्रत्यारोपमा देखिन्छन् । यसबारे विषयान्तर नगर्न सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटले आग्रह गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई आग्रह समेत गरेका छन ।

यता नेकपा एमालेका सांसद रघुजि पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीलाई सचेत नै गराएका छन । प्रधानमन्त्रीको भ्रमणको अनिश्चितता तर भारतमा पूर्व राजाको भेटघाट र सक्रियताप्रति सांसद पन्त ससंकित छन् । उनी भारतको कुटनीतिक रणनीतिमाथी पन्त खनिएका छन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सदनकै सांसदहरु फरार, पक्राउ परिरहेका बेला सदनमा शरणार्थी प्रकरण थप पेचिलो बन्नु अस्वभाविक होइन । सदन नै बदनाम हुने गरी शरणार्थी प्रकरणमा सांसदहरु मुछिएका कारण, उच्च पदस्थ व्यक्तिहरु धमाधम पक्राउ पर्नाले पनि यो विषयको वारपारको पक्षमा सांसदहरु छन ।