Breaking

कांग्रेस एमाले बदनामीको बाटोमा, नेता बचाउने ओली देउवाको दाउ, ओलीकै पालामा नक्कली शरणार्थी बने !


काठमाडौँ — सुशासनको हवालादिँदै दशकौं देखि शासन व्यवस्था हत्याएका प्रमुख राजनीतिक शक्तिहरु आफै लोकतन्त्रको धज्जी उठाउन मातत्पर देखिन्छन् । भ्रष्टाचार र अनियमिततामा उनै नेताहरु मुछिदा दलहरु भने एक अर्काप्रति हिलो छ्यापा छ्यापमा व्यस्त देखिन्छन् । जतिजति नक्कली भुटानी शरणार्थी प्रकरणको लहरो बढ्दै छ, उति नै ठूला राजनीतिक शक्तिका शीर्ष नेता तानिने क्रमजारी छ । अझ भनौँ प्रभावशाली भनिएका नेताहरु पक्राउ पर्ने र प्रहरी प्रशासन पक्राउ पुर्जी जारी गर्दै आरोपितको खोजीको दैनिकी विताउन व्यस्तछन् । आईतबार मात्रै उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव तथा सांसद् टोपबहादुर रायमाझी पक्राउ परे भने यस अघि नै पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रहरीको हिरासतमा पुगिसकेका छन् ।

यस बाहेकका सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पनि अनुसन्धान प्रक्रियामा तानिँदै प्रहरी हिरासतमा पुगेका छन् । सुशासन जस्ता लोकप्रिय नारा दिएर विधिको शासन स्थापित गर्नु पर्छ भन्दै सत्तामा पुग्ननेहरु नै भ्रष्टाचार, मानव तस्कर जस्ता मुद्धामा मुछिनुले लोकतन्त्रको रक्षा गर्नेहरुले नै त्यसको धज्जी उडाइ रहेको प्रष्ट भएको छ । २०४६ को जन आन्दोलन पछि सत्ताको बागडोर कांग्रेस, एमाले लगायत राजनीतिक शक्तिहरुले नै सम्हालिरहेका छन् । पालै पालो सत्ताको तालाचाबी बोकेका यि राजनीतिक दलका नेताहरु नै विभिन्न काण्डहरुमा मुछिएका छन् ।

२०४६ साल पछि कति पय दोषीठहर भए जेल सजाय भोगे भने कतिपय आरोपित बनेर प्रहरी हिरासतमा पुगेका छन् । अहिले पनि यिनै पार्टीका पूर्व उपप्रधानमन्त्री र गृहमन्त्रालय समेत सम्हालिसकेका व्यक्ति भ्रष्टाचार मुद्दामा अनुसन्धानको घेरामा छन् । तर, अझै पनि यि पार्टीहरु आफ्नो र दलका नेताको दोष स्वीकार्दैनन् । बरु एक–अर्का प्रतिहिलो छ्यापा छ्यापमा व्यस्त छन् । आफूलाई दूधले नुहाएको ठान्ने यी पार्टीहरु आरोप प्रत्यारोप गर्दै चोखिन खोज्छन् । राष्ट्रियता र समृद्धिको विगुल फुक्ने पार्टी एमालेका नेता भ्रष्टाचारको काण्डमा नमुछिएको सायदै होला ।

नक्कली शरणार्थी देखि प्रिन्टङ् प्रेस घोटला काण्ड, ओम्नीप्रकरण र बालुवाटार काण्डमा एमालेका उच्च पदस्थ नेताकै नाम अगाडि आएको छ । तर, एमालेका नेताहरु भ्रष्टाचार, अनियमिततामा नेपालको इतिहासमा कांग्रेस पार्टी भ्रष्टभएको आरोप लगाउन पछि पर्दैनन् । दोष जति अरुको टाउकोमा थुपारेर भ्रष्टहरुको सर्कलबाट आफू उम्कने हरप्रयासमा नेकपाएमाले रहेको छ । भ्रष्टाचारको लहरो तान्दात्यसको पहरो आफ्नै पार्टीतिर पनि आउने डर यी दुवै पार्टीमा छ । आफ्नै स्वार्थका लागि राजनीतिमा लागेका पार्टीका नेताहरु बाहिर जे–जे भने पनि आन्तरिक रुपमा दुबै पार्टीहरु रक्षात्मक देखिन्छन् ।

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापा जोगाउने मिसनमा एमाले अध्यक्ष केपी शर्मा ओली सक्रिय देखिन्छन् । उता आफ्नी श्रीमती आरजु जोगाउनका लागि बालकृष्णखाँण र मन्जु खाणको विषयमा चुईंक्क बोल्ने पक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा छैनन् । ‘आफ्नै हात जगन्नाथ’को शैली अपनाउने पार्टीहरु गल्ती स्वीकार्नै चाहदैनन् । यिनै पुराना एवम् सबैभन्दा ठूला राजनीतिक शक्ति र तिनका नेताहरुका कारण गौरवपूर्ण इतिहास बोकेको मुलुकको छवि अन्तरर्राष्ट्रिय स्तरमा थप धुमिलिँदै गएको छ ।