Breaking

शरणार्थी प्रकरण प्रचण्डको हतियार, देखाईदिए देउवा–ओलीको हैसियत, सत्तामा ढुक्क, आरजुको उल्टै दम्भ


काठमाडौँ — संकटबाट जोगिँदैसरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री प्रचण्डले एमाले–काँग्रेसलाई साइजमा ल्याएका छन् । नक्कली शरणार्थी प्रकरणमा एमाले–काँग्रेसकै नेताहरु बढी मुछिएपछि यसैलाई हतियार बनाएर ओली–देउवा गलाउन प्रचण्ड सफल भएका हुन् । एउटै भ्रष्टाचारको फाइल खोलेर एमाले–काँग्रेसजस्ता शक्तिशाली पार्टीको निद्रा हराम गराईदिएका प्रधानमन्त्री प्रचण्ड अहिले लयमा छन् ।प्रमुख प्रतिपक्षी दललाई सरकारकै एक घटक जस्तो बनाएका छन् ।

संसदीय समितिदेखि संवैधानिक परिषद् र भ्रष्टाचारमा मुछिएका पात्रसम्मको बचाउ ओलीको चासो बनेपछि प्रधानमन्त्रीलाई एमाले गलाउन सहज भएको छ । पछिल्लो पटक ओली तब गले, जब सांसदसमेत रहेका पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भयो ।लगत्तै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार गएका ओली संवैधानिक परिषद्को गतिरोध फुकाएर प्रधानन्यायाधीश नियुक्तिका लागि तयार भए । संसदीय समितिमा तीन भाग पाएपछि आशातित प्रतिपक्षका रुपमा हेरिएको एमालेअंसियारमा सिमित बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले आफु अनुकुल बनाएर संवैधानिक परिषद् सम्बन्धि संसोधन विधेयक संसदमा दर्ता गराएका थिए । जसमा परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको सहमति बिना एजेन्डा तय गर्न, बैठक बोलाउन र बहुमतले निर्णय गर्न नसक्ने व्यवस्था थियो । किनकि प्रधानमन्त्री प्रचण्डले बुझेका थिए, ओलीको स्पष्ट बहुमत रहेको परिषद्मा निर्णय पनि ओलीकै हुन्छ ।

ओलीले पनि प्रचण्डमाथि प्रतिशोध साँध्ने गतिलो विकल्प संवैधानिक परिषद्लाई बनाएका थिए । यसका लागि एमालेले आपत्तिमात्रै जनाएको थिएन । विधेयकमा व्यवस्था गरिएको विषयमाथि आलोचना गर्दै पारित नगर्ने अडान लिएको थियो । तर शरणार्थी समस्यालाई विधेयकसँग साट्न ओली तयार भएपछि प्रचण्डलाई हाइसञ्चो भएको छ । अब यो विधेयकलाई पारित गर्न तीन दलबीच सहमति बनेको छ ।

३२ सिटे माओवादीले सरकार चलाएको खसखस पहिलो र दोस्रो दललाई पहिल्यैदेखि थियो । एमाले–काँग्रेसले चाहे प्रचण्डको सरकार जतिबेला पनि ढल्न सक्थ्यो । त्यसको कसरत गरेका ओलीले काँग्रेस सभापति देउवालाई पटकपटक प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । तर परिपक्क कोर्षको खोजीमा रहेका देउवा तत्कालका लागि तयार भएनन् । अहिले देउवाकै जोडबलमा सरकार फेरबदलको सम्भावना बलियो थियो । तर नक्कली शरणार्थी प्रकरणमा आफ्नै पत्नी आरजु राणासहितका नेताहरुको नाम मुछियो । पूर्वगृहमन्त्रीसमेत रहेका विश्वासपात्र बालकृष्ण खाँड पक्राउ नै परे ।

अब आरजुलाई बचाउन पनि देउवा प्रचण्डको पक्षपोषण गर्नुपर्ने बाध्यतामा छन् । फलतः ओली–देउवा जस्ता शक्तिशाली पात्रलाई गलाएर प्रचण्डले सत्ता सुरक्षा गरेका छन् । शीर्ष नेतृत्व नै स्वार्थको स्वादमा भुलेपछि नक्कली भुटानी शरणार्थीको विषय प्रभावित बन्ने सम्भावना बलियो छ । किनकि यही विषय एकले अर्काेलाई जोगाएर एकबाट अर्काे बच्ने विकल्प नेताहरुले बनाएका छन् ।एमाले पछि हटेपछि संसदमा विचाराधीन नागरिकता विधेयकदेखि संक्रमणकालिन न्यायसम्बन्धिको विधेयक र कार्यकर्ताका मुद्धा फिर्ता लिन सरकारले अघि सारेको विधेयकमा पनि सहमति जुटाउन प्रचण्ड सफल भएका छन् ।