Breaking

संसदमा पुगेन टोपबहादुर रायमाझी पक्राउ परेको सूचना


काठमाडौँ – प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।

आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रूपमा प्राप्त नगरेको संसद सचिवालयले जनाएको छ ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ ।

संविधानको धारा १०३ मा संसदमा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

‘त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ ।

सांसद टोपबहादुर रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई रायमाझी पक्राउ परेको सूचना नदिएका कारण सोमबार प्रतिनिधिसभामा उनी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा परेको छैन ।