Breaking

रेशम चौधरीको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै


काठमाडौँ – रेशम चौधरीलगायत जोडिएका टीकापुर घटनाको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार सुनुवाइ हुने भएको हो । यो मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालतले भने उनीहरुलाई दोषी ठहर गरिसकेका छन् ।

यसविरुद्ध दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन् । ती निवेदनमा वैशाख २५ गते सुनुवाइ सुरू भएको हो । यसअघि प्रतिवादी चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र विपक्षिका कानुन व्यवसायीले बहस गर्नेछन् ।

उनीहरुको बहसपछि निवेदक चौधरी पक्षले जवाफी बहस गर्नेछन् । त्यसपछि मुद्दाको फैसला हुनेछ । चौधरीलाई माफी दिनकै लागि सरकारले संसद् सचिवालयमा विधेयक दर्ता गराएको छ । तर त्यसअघि नै सर्वोच्चले फैसला गरे सर्वोच्चको फैसला नै अन्तिम हुनेछ ।

टीकापुर घटनामा संलग्नहरुलाई माफी दिने गरी सरकारले विधेयक संसद्‌मा दर्ता गराएको छ । विधेयक पास भइसकेको छैन । सर्वोच्चले दोषी ठहर गरेमा भने विधेयक अर्थहीन हुनेछ । सर्वोच्चबाट सफाइ पाएमा रेशमसहितका प्रतिवादी छुट्ने छन् ।

रेशमले २०७७ फागुन १२ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । अन्य प्रतिवादीले पनि फरक/फरक मितिमा व्यक्तिगत तथा सामूहिक रुपमा निवेदन दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रेशमकी पत्नी रञ्जिता श्रेष्ठ वर्तमान सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । रेशमलाई छाड्ने सर्तमै उनी सरकारमा सहभागी भएकी हुन् ।

थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

सोही मुद्दामा २०७५ फागुन १२ गते रेशम चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । २०७७ पुस ३ गते उच्च अदालत दिपायलले पनि रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनायो । सोहीबमोजिम रेशमसहित दोषीहरु अहिले जेल जीवन बिताइरहेका छन् ।