Breaking

सरकारी वकिलमा बालकृष्ण खाणको बयान सुरू


काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको सोमबारदेखि बयान सुरू भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बालकृष्णलाई बयानका लागि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा पुर्‍याइसकेको छ ।

अहिले सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ । यसअघि प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र बालकृष्ण गृहमन्त्री हुँदाकै गृहसचिव टेकनारायण पाण्डेको पनि बयान आइतबार सकिएको छ ।

यसअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । अब बालकृष्णको बयान सुरू भएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणको बयानअघि आइतबार जिल्ला अदालत काठमाडौँले थप चार दिन समय प्रहरीलाई दिएको छ ।

यही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।