Breaking

रायमाझीलाई सोह्रखुट्टे लगेपछि खाँणका निजी सचिव केसीलाई मध्यराति सारियो दरबारमार्ग


काठमाडौँ – पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई सोह्रखुट्टे वृत्तको हिरासतमा राखिएको छ ।

नक्कली शरणार्थीका नाममा ठगीमा संलग्न रहेको आरोपमा आइतबार बेलुका पक्राउ परेका रायमाझीलाई राति नै स्वास्थ्य परीक्षण गरेर सोह्रखुट्टे वृत्त लगिएको हो ।

रायमाझीलाई हिरासत कक्ष नभई कार्यालयको कोठामा छुट्टै व्यवस्था गरिएको छ । यसअघि त्यहाँको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसीलाई भने दरबारमार्ग वृत्तको हिरासतमा सारिएको छ । यसअघि उनलाई सोह्रखुट्टेमा राखिएको थियो ।

टोपबहादुरलाई त्यहाँ छुट्टै कोठामा राखिएको छ । एकै ठाउँमा राख्दा उनीहरूले समान बयान दिएर मुद्दा प्रभावित पार्न सक्ने भएकाले प्रहरीले आरोपितलाई छुट्टाछुट्टै हिरासतमा राखेको हो ।