Breaking

भ्रष्टाचारविरोधी आन्दोलनप्रति बालेनको असन्तुष्टि


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) अराजक अभिव्यक्ति दिने भनेर आलोचित छन् । तर उनले आफ्नो शैलीलाई भने निरन्तरता दिन छाडेको छैन ।

मेयर बालेन सामाजिक सञ्जालमार्फत दलका नेताहरूविरुद्ध आक्रोश पोखिरहेका हुन्छन् । यसै क्रममा उनले फेरि एकपटक नेताहरूविरुद्ध अमर्यादित भाषा प्रयोग गरेका छन् । 

शनिबार नागरिक अगुवाहरूको सक्रियतामा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरियो। जसमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सांसदहरू पनि सहभागी भएका थिए।

तर काठमाडौं महानगरपालिकाका मेयर बालेनले भने यस्तो सडक नाटक धेरैपटक देखिएको भन्दै प्रदर्शनकारी र नेताहरूविरुद्ध तीखो टिप्पणी गरेका हुन्। 

‘भ्रष्टाचारविरुद्धको आन्दोलन?? को नेता हो थाहा छ? घर कहाँ हो थाहा छ’, शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सीधै लगेर बागमतीमा चोपाल्नुस्, यस्तो सडक नाटक धेरै देखिसक्यौँ हामीले, पत्याउदिनँ मचाहिँ ।’

यस्तै उनले प्रदर्शनमा सहभागी नेताहरूलाई आन्दोलन गर्न होइन, भ्रष्टाचारीलाई सीधै कारबाही गर्न जनताले भोट दिएर पठाएको भनी सम्झाएका छन्।