Breaking

प्रचण्ड भेटेका रवि–राजेन्द्र सडक चर्काउँदै, भ्रष्टाचारी छुट्ने सम्भावना छैन, खुट्टा नकमाउन चेतावनी


काठमाडौँ — भ्रष्टाचार विरुद्धको आन्दोलनमा नागरिकहरु स्वतःस्तफूर्तसडकमा उत्रिएका छन् । नागरिक समाजदेखि विद्यार्थी संगठन र आम सर्वसाधारण सरकारले गरेको कामप्रति ऐक्यवद्धता जनाउँदै खबरदारी गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरुकै संलग्नता देखिएसँगै यसमा ठूलो रकम भ्रष्टाचार भएको खुलेको छ ।सरकारले भुटानी शरणार्थीको सूचीमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृह सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् भने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा छन् ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र खाण पत्नी मञ्जु पनि अनुसन्धानको दायरामा मुछिएपछि राजनीतिक दल, विद्यार्थी संगठन र आम नागरिक खबरदारीमा उत्रिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । साथै भ्रष्टाचार देशको साझा दुश्मन भएको भन्दै सरकारलाई सहयोग गर्न वैखाश ३० गते शनिबार सडक आन्दोलनमा निस्कनसमेत आह्वान गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेताको सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गर्न भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको छ ।सरकारले चालेको कदमलाई धन्यवाद दिँदै कुनै अनियमितता नहोस् भन्ने हेतुले विद्यार्थी संगठन र नागरिक समाज पनि खबरदारी गर्दै सडकमा उत्रिएका छन् । एकपछि अर्काे गर्दै ठूला नेताहरुको संलग्नता देखिएपछि कारबाही नगरी सामसुम पारिन्छ कि भन्ने आशंकामा सरकारलाई दबाब दिन विद्यार्थी संगठनदेखि नागरिक समाज सडकमा छन् ।

नीतिगत भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु विभिन्न राजनीतिक लेनदेनमा भ्रष्टाचारको विषयलाई सामसुम बनाउने परिपार्टी रहेको मुलुकमा यो प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने संशय नागरिक समाजको छ । तर, अब पनि स्वार्थका लागि मिलेमतोमा जनतालाई षड्यन्त्र गर्न खोजे त्यसको परिणाम प्रचण्ड सरकारले व्योहोर्नुपर्ने उनीहरुको चेतावनी छ । पार्टी नेतृत्वले जे–जे भन्छन्, त्यसमा सहमति जनाउने राजनीतिक दलका भ्रातृ संगठन पनि अहिले खबरदारीका लागि सडकमा नै छन् ।

सरकारमा भएका बेला सत्तारुढ आफ्नै पार्टी नागरिक हितविपरीतका काम गर्दा पनि मौन साँधिरहेको आक्षेप भ्रातृ संगठनका पदाधिकारीमाथि लाग्दै आएको छ। तर, यस पटक भने विद्यार्थी संगठनहरु पनि चर्काे घाम सहेरै सशक्त भएर भ्रष्टाचारको निष्पक्ष छानविन गराउन सरकारलाई दवाव दिइरहेका छन् । लहरो तान्दा पहरो झर्ने हो कि भन्ने डर शीर्ष नेतामा छ । त्यसैले चलखेल हुने सम्भावना पनि छ । एक तर्फ आशा अनि अर्का तर्फ राजनीतिक प्रभाव वा अन्य कुनै दवावमा सरकार पर्छ कि भन्ने संशय पैदा भइरहेको बेला भ्रष्टाचारीलाई छुट दिन नहुने आवाज बलियो बन्दै गएको छ ।

भ्रष्टाचारविरुद्ध राजनीतिक दल, विद्यार्थी संघलगायत नागरिकहरु लगातार सरकारलाई खबरदारी गरिरहेका छन् । अनुसन्धान अघि बढ्दै जाँदा थप ठूला नेताहरु पनि मुछिने देखिएका छन् । जसका कारण सरकार खुट्टा कमाउने हो कि भन्ने शंका नागरिकमा छ । तर, सरकारलाई आम सचेत नागरिकको साथ रहेको हुँदा दरोसँग खुट्टा टेक्दै न्यायिक फैशला भएको प्रत्याभूत गराउन आवश्यक छ ।