Breaking

गण्डकी प्रदेशः सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिल्यो


काठमाडौँ — गण्डकी प्रदेशमा सत्ता गठबन्धनबीच मन्त्रालयको भागबण्डा मिलेको छ । गण्कडी प्रदेशमा सरकारको नेतृत्व गरेको कांग्रेसले तीन, माओवादीले २ र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद विन्दुकमार थापाले बताए । उनका अनुसार कांग्रेसबाट महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा मन्त्री बन्दै छन् भने सरस्वती अचार्यले मुख्यमन्त्रीसँगै सपथ लिएकी थिइन् । उनका अनुसार कांग्रेसले अर्थ, ऊर्जा र कृषि मन्त्रालय पाएको छ ।

यस्तै माओवादीले भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले पर्यटन मन्त्रालय पाउने सहमति भएको कांग्रेस सांसद थापाले बताए । माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट दीपक मनाङेलाई मन्त्री बनाउन लागिएको छ ।

यसअघि माओवादीकी सुशीला सिम्खडा विना विभागीय मन्त्री बनेकी थिइन् । माओवादीका जुग्जाली भौतिक र सिम्खडा सामाजिक विकास मन्त्री बन्ने छन् । मनाङले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कांग्रेस जिसी अर्थ बन्ने छन् भने आचार्य र थापाको मन्त्रालयको टुंगो लागेको छैन ।