Breaking

लडाकु शिविरमा भएको आर्थिक हिनामिना छानबिन गर्न अख्तियारले खुट्टा कमायो: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे ।

उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचारबाहेक अरू हुनै नसक्ने दाबी गरे । उनले नेकपा माओवादी केन्द्रको सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए । उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ, घाईते अपांग, के के किस्ता किस्तामा भनिएको छ, अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ, अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ, बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ, माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ, उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ, क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पहिला पनि धेरै भएका छन् ।

क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।