खेलकुद

५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर एन्टोनियोको निधन


काठमाडौँ – आफ्नो समयमा प्रभावशाली मेक्सिकन फुटबलर एन्टोनियो कार्बाजलको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा निधन भएको हो । कार्बाजल ५ वटा विश्वकप खेल्ने पहिलो फुटबलर हुन् । विश्व फुटबल वृत्तमा ‘ला टोटा’ उपनामले चर्चित कार्बाजल आफ्नो समयमा चर्चित गोलरक्षक हुन् ।

५ फिट ११ इन्च अग्ला यी गोलरक्षकले ५ वटा विश्वकप खेलेका थिए । उनले सन् १९५० मा ब्राजिलमा सम्पन्न विश्वकपमा पहिलो पटक सहभागिता जनाएका थिए । त्यसपछि उनले सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकपमा पनि मेक्सिन टोलीको गोल पोष्ट सम्हालेका थिए ।

यसैगरी उनले सन् १९५८ मा स्विडेन, सन् १९६२ मा चिली र सन् १९६६ मा इङ्ल्यान्डमा भएको विश्वकप फुटबल पनि खेलेका थिए । ५ वटा विश्वकप खेल्ने उनी पहिलो फुटबलर हुन् । उनले ५ वटा विश्वकप खेल्ने कीर्तिमान पनि ३२ वर्षसम्म आफ्नो नाममा राखेका थिए ।

त्यसपछि चर्चित जर्मन खेलाडी लोथर म्याथ्युजले कार्बाजलको कीर्तिमानको बराबरी गरेका थिए । सन् १९९८ मा फ्रान्समा लोथर म्याथ्युजले पाँचौं विश्वकप खेलेका थिए । कार्बाजलले सन् १९५० देखि सन् १९६६ सम्म मेक्सिकोको राष्ट्रिय टोलीबाट ४८ खेल खेलेका थिए । उनले राष्ट्रिय टोलीबाट विश्वकपमा कुल ११ खेल खेलेका थिए ।

यसका अतिरिक्त कार्बाजलले विभिन्न क्लबबाट ४ सय ९ वटा ब्यवसायिक फुटबल पनि खेलेका थिए । उनले ब्यवसायिक फुटबलमा आफ्नो अधिकांश समय मेक्सिकन क्लब लियोनमा बिताएका थिए ।

मेक्सिकन क्लब लियोनबाट उनले ३ सय ६४ खेल खेलेका थिए । उनले उक्त क्लबमा आफ्नो खेल जीवनको १६ वर्ष बिताएका थिए । सोही क्लबको रंगशालामा बिहीबार कार्बाजलप्रति अन्तिम श्रृद्धाञ्जली अर्पण गरिने छ ।

क्लब लियोनले आफ्ना पूर्वखेलाडी कार्बाजलप्रति श्रृद्धाञ्जली अर्पण गर्नका लागि रंगशालामा आउन समर्थकहरुसँग आग्रह पनि गरेको छ । ‘डन एन्टोनियो, महापुरुषहरु कहिल्यै मर्दैनन्,’ क्लब लियोनले कार्बाजलप्रति सम्मान ब्यक्त गर्दै भनेको छ, ‘हामी सँधैं तिमीले देखाएको बाटोमा हिँड्ने छौं । तिमीले हाम्रो क्लबबाट खेल्यो त्यो हाम्रा लागि ठूलो सम्मानको विषय हो ।’

कतार विश्वकपसम्म आइपुग्दा ५ वटा विश्वकप खेल्ने खेलाडीको सँख्या ५ पुगेको छ । कार्बाजल र लोथर म्याथ्युजका अतिरिक्त मेक्सिकोका मिडफिल्डर आन्द्रेज ग्वार्डाडो, अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र पोर्चुगलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि ५/५ वटा विश्वकप खेलेका छन् ।

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफान्टिनोले पनि कार्बाजलको निधनप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । कार्बाजलप्रति श्रृद्धाञ्जली अर्पण गर्दै उनले भनेका छन्, ‘५ वटा विश्वकप खेल्ने पहिलो खेलाडी एन्टोनियो कार्बाजलको निधनबाट सिंगो विश्व फुटबल स्तब्धः बनेको छ ।’